काठमाडौँ । ज्यान मार्ने उद्योगको कसुरमा पक्राउ परेका आरोपीलाई पक्राउ पुर्जी समेत सदर नगरी छाडेको भन्दै न्यायाधीश हरिप्रसाद कोइरालाविरुद्ध न्याय परिषद्मा उजुरी परेको छ ।
१० असारमा ललितपुर जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद कोइरालाले पक्राउ परेका अछामको पञ्चदेवल विनायक नगरपालिका–६ का २२ वर्षीय महेन्द्र रावल र कैलालीको लम्कीचुवा नगरपालिका–६ का धर्मराज खड्कालाई छाड्न आदेश दिएका थिए । उनीहरुले ललितपुर महानगरपालिका–२ सानेपा खरिबोटस्थित सार्वजनिक बाटोमा बिहान ४ बजेतिर ४२ वर्षीय दीपक शाक्यमाथि बियरको बोत्तल र हेलमेटले आक्रमण गरेका थिए ।
ललितपुर जिल्ला अदालतका न्यायाधीश कोइरालाले उनीहरुलाई थुनामा राखिराख्नु नपर्ने भनदै छाडिदिएको छ । आदेशमा भनिएको छ ‘यस मिसिलमा संलग्न जाहेरी दरखास्त र घाउ जाँच केश फारमका आधारमा प्रतिवादीहरू महेन्द्र रावल र धर्मराज खड्कालाई ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ को नियम (५) को उपनियम (२) बमोजिम पक्राउ स्वीकृति दिन मनासिव देखिएन । कानुन बमोजिम गर्नू,’ न्यायाधीश कोइरालाले आदेश दिए ।
पीडितले पक्षले कोइरालामाथि छानबिन गरी कारबाही गर्नुपर्ने माग राखेका छन् । उनीहरूले आईसीयूमा उपचार गरेको, घाउँ जाँच फारम लगायतका प्रमाण हुँदाहुँदै पनि न्यायाधीशले छाडेको आरोप लगाएका छन् ।
न्याय परिषद् ऐन २०७३ को दफा १० (घ) बमोजिम मुद्दाको कारबाही गर्दा कानुनको स्पष्ट र असंदिग्ध अर्थलाई उपेक्षा गरी अर्कै व्याख्या वा अर्थ लाग्नेगरी काम गरेको आरोप उनीमाथि छ । जसकारण ऐनको दफा १० (झ) बमोजिम पदीय दायित्व निर्वाह गर्नका लागि अपेक्षित स्तरको कार्यक्षमताको अभाव रहेको भन्दै उजुरी परेको छ ।
यता, न्याय परिषद् स्रोतले पनि न्यायाधीश कोइरालाविरुद्ध उजुरी दर्ता भएको पुष्टि गरेको छ ।
परिषद्मा उजुरी परेका कोइराला तीनै न्यायाधीश हुन् जसले यसअघि बलात्कार आरोपमा मुछिएका सिद्धबाबा भनिने विवादास्पद धर्मगुरु कृष्णबहादुर गिरीलाई बलात्कार आरोपमा सफाइ दिएका थिए ।
आफ्नै अनुयायीलाई बलात्कार गरकोे आरोप लागेका सिद्धबाबालाई न्यायाधीश कोइरालाको इजलासले २७ भदौ २०८० मा सफाइ दिएको थियो । कोइरालाले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको थियो ।