काठमाडौँ । नेपाली सेनाका सहायक रथी रोशन खड्का र मेजर बोधराज कार्की बर्खास्त भएका छन् ।
सैनिक विशेष अदालतले बिहीबार सैनिक कल्याणकारी कोषमा भ्रष्टाचार गरेको ठहर गर्दै सहायक रथी खड्का र मेजर कार्कीलाई सेवाबाटै बर्खास्त गर्ने फैसला सुनाएको हो ।
‘सैनिक अनुशासन, आचारसंहिता र सम्पत्तिसम्बन्धी कसुरमा सैनिक ऐन, २०६३ को दफा १०१ बमोजिम भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट बर्खास्त गर्ने निर्णय भएको छ’, सैनिक स्रोतले बतायो । सैनिक विशेष अदलातले अपचलन भएको रकम निजहरुबाट असुलउपर गर्ने पनि फैसला गरेको छ ।
सैनिक कल्याणकारी कोषको सवा २ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा सेनाका बहालवाला सहायक रथी खड्का र मेजर कार्कीलाई सैनिक प्रहरीको हिरासतमा राखेर मुद्दा अगाडि बढाइएको (कोर्टमार्सल) थियो ।
अवकाश भइसकेका दुई जनासहित चार जनाले २ करोड २१ लाख ८५ हजार ५१५ रुपैयाँ ४८ पैसा हिनामिना गरेको सैनिक अदालतले ठहर गरेको हो । कोर्ट अफ इन्क्वायरीको क्रममा हिनामिनामा उनीहरुको संलग्नता पुष्टि भएपछि कोर्ट मार्सल अगाडि बढाइएकोमा दुवै जना दोषी ठहर भएका हुन् । सेनाबाट अवकाश भइसकेका दुई जनालाई भने कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंलाई अनुसन्धानको जिम्मा दिइएको थियो । जसमा प्रहरीले अनुसन्धान सकेर अदालतमा पुद्दा पुगेको थियो ।