काठमाडौँ । काठमाडौँ भ्यु टावरका ठेकेदार मनोज भेटवाल रिहा भएका छन् । अदालतले पहिलो पटक ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको थियो । तर १९ गते दोस्रो पटक म्याद थपका लागि उपस्थित गराउँदा अदालतले म्याद नदिएपछि छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपीलराज बोहराले बताए ।
भेटवाललाई प्रहरीले असार १३ गते पक्राउ गरेको थियो । यसअघि हिरासतमा राख्न अदालतले अनुमति दिए पनि स्वास्थ्यका कारण भन्दै उनलाई अस्पतालमा राखिएको थियो । ह्याम्स अस्पतालमा ६ दिन राखेपछि भेटवाललाई छाडिएको हो ।
जलेश्वर बिकोई बिल्डर्स प्रालिका अध्यक्ष भेटवाल दमको बिरामी भएकाले अस्पतालमा राखिएको प्रहरीको दाबी थियो । उनी ९ करोड ८८ लाख रूपैयाँ चेक बाउन्सको कसुरमा पक्राउ परेका थिए । पीडितले सुरुमा प्रहरीमा जाहेरी दिए पनि पक्राउ गरेर अनुसन्धान गरेको थिएन ।
भेटवालविरुद्ध जिल्ला अदालतबाट २०८२ असार ६ गते पक्राउ पुर्जी जारी भएको थियो । भेटवाल यसअघि पनि पटकपटक पक्राउ परेका थिए। क श्रेणीका ठेकेदार भेटवालले काठमाडौँ भ्यु टावर पनि अलपत्र पारेका छन् ।
उनले ठेक्कापट्टाकै क्रममा सिन्धुलीका राजकुमार बरालसँग ९ करोड ८ लाख रूपैयाँ लगेको र त्यो रकम फिर्ताका लागि चेक दिए पनि रकम नसाटिएको आरोप छ ।
गत वर्ष साउन ३० गते काटेको ५ करोड ९४ लाख र २०० माघ २९ गते नै काटिएको ३ करोड ९४ लाख रूपैयाँको चेक नसाटिएको पीडितको गुनासो छ । ती दुवै चेक नसाटिएपछि पटकपटक ताकेता गर्दा पनि अटेर गरेका भेटवाललाई कानुनी दायरामा ल्याउन पीडितले प्रहरी गुहारेका हुन् ।