काठमाडौँ । विशेष अदालतले नेपाल टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक संगीता पहाडीसँग २ लाख रुपैयाँ धरौटी माग गरेको छ ।
मंगलबार न्याधीशहरू तेज नारायण सिंह राई, राम बहादुर थापा र बिदुर कोइरालाको संयुक्त इजलासले पहाडीलाई २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। अदालतले माग गरेको धरौटी बुझाएर पहाडी छुटिसकेकी छन् ।
आफूविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि पहाडी मंगलबार अदालतमा हाजिर भएकी थिइन् । विशेष अदालतले मंगलबार नै बयान गराएर थुनछेक बहस पनि गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पहाडीलगायत १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
नेपाल टेलिकमको बिलिङ प्रणाली, मर्मत शुल्कलगायतमा भ्रष्टाचार भएको अख्तियारको आरोप छ । अख्तियारले उनीहरुविरुद्ध ३३ करोड बिगो दाबी गरेको छ। मुद्दा दायर भएसँगै पहाडी निलम्बनमा परेकी छिन् ।
विभिन्न भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका सुनील पौडेल निलम्बनमा परेसँगै प्रतिस्पर्धाबाटै पहाडी टेलिकमको प्रबन्धनिर्देशक बनेकी थिइन् । यो मुद्दामा पौडेललाई पनि प्रतिवादी बनाइएको छ ।
टेलिकमका १४ जना कर्मचारीविरुद्ध पनि मुद्दा दायर गरिएको छ। टेलिकमका कर्मचारीविरुद्ध ३३ करोड ४८ लाख रुपैयाँ हानि नोक्सानी भएको अख्तियारको आरोप छ । नेपाल दूरसञ्चार कम्पनीको बिलिङ सिस्टम अपग्रेड गर्ने कार्यमा मिलेमतो गरी भ्रष्टाचार गरेको आरोप छ ।
२०६८ पुस ६ गते नेपाल टेलिकम र एशियाइन्फो लिङकेज टेक्नोलोजिस् इंकबीच कनभजेन्ट रियल टाइम बिलिङ र कस्टोमर सपोर्टको प्रणाली खरिद गर्दा ६ वर्षसम्म वार्षिक मर्मत करार गर्न सकिने व्यवस्था छ । मर्मत कार्यको लागि करार सम्झौता गर्दा ५ प्रतिशतको घट्दो दरमा भुक्तानी गर्नुपर्ने व्यवस्था भए पनि टेलिकमका कर्मचारीले उक्त प्रवधानप्रतिकूल हुने गरी मर्मत खरिद गरेको आरोप छ ।
वार्षिक ५ प्रतिशत छुटसहितको एमसी सेवाको प्रावधानप्रतिकूल हुने गरी आपूर्तिकर्ता एसियाइन्फोसँग अस्वाभाविक मूल्य कायम गरी २ करोड ५ लाख ६३ हजार अमेरिकी डलरमा वार्षिक मर्मत सेवा खरिद गर्ने सम्झौता गराउँदा टेलिकमलाई नोक्सानी भएको आरोप अख्तियारको छ ।