काठमाडौँ । विशेष अदालतले काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई भ्रष्टाचार मुद्दामा २५ हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको छ ।
विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उनलाई धरौटीमा छाड्ने आदेश गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाको सामाखुसी कोरिडोर अन्तर्गत वसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माण कार्यको ठेक्कामा अनियमितता भएको भन्दै परियारसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
मुद्दा दायर हुँदा अख्तियारले उनलाई अदालतमा उपस्थित गराएको थिएन । परियार बुधबार मात्र अदालत उपस्थित भएपछि इजलासमा बयान तथा थुनछेकसम्बन्धी बहस भएको थियो ।
परियारविरुद्ध ४ करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ बिगो माग गरिएको छ । उनी पछिल्लो समय सूचना तथा प्रशारण विभागका महानिर्देशक थिए । भ्रष्टाचार मुद्दा दायर भएपछि उनी पदबाट निलम्बित भइसकेका छन् ।
महानगरपालिकाका निर्देशकहरू रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल, सहायक निर्देशक उत्तम दाहाल, इन्जिनियर जनार्दन गिरीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ । निर्देशकद्वय वसन्त आचार्य र नमराज ढकालसँग पनि विशेष अदालतले धरौटी माग गरेको छ ।
त्यस्तै कल्पवृक्ष-कोहिनूर जेभी र समानान्तर निर्माण सेवा प्रालिसहितले ४ करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ हानिनोक्सानी गराएको अख्तियारको दाबी छ । अख्तियारले प्रतिवादीहरूले आफ्नो पदको दुरुपयोग गरी/गराई काठमाडौँ महानगरपालिका/सार्वजनिक संस्थाको सम्पत्ति बदनियतपूर्वक हानिनोक्सानी गरे/गराएको तथ्य स्थापित भएको भनेको छ ।