शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • काठमाडौँ जिल्ला अदालतले एक वर्षमा झण्डै २७ हजार मुद्दा फैसला गर्यो


    हुलाक प्रेस

    • आइतबार, असार २९ २०८२११:०६
    काठमाडौँ  जिल्ला अदालतले एक वर्षमा झण्डै २७ हजार मुद्दा फैसला गर्यो

    काठमाडौँ । जिल्ला अदालत काठमाडौँले एक वर्षमा झण्डै २७ हजार मुद्दा फैसला गरेको छ ।

    चालु आर्थिक वर्ष २०८१/८२ को असार २७ गतेसम्म २६ हजार ७ सय ४४ मुद्दा फछ्र्यौट भएको श्रेस्तेदार तीर्थ भट्टराईले जानकारी दिए ।

    यो वर्ष काठमाडौँ जिल्ला अदालतमा २५ हजार ६ सय ३९ वटा मुद्दा दर्ता भएका छन् । वर्षको जिम्मेवारी सरेको मुद्दा २६ हजार ५०२ गरी यस आर्थिक वर्षमा अदालतमा जम्मा लगत संख्या ५२ हजार १ सय ४१ पुगेको थियो ।

    अब २५ हजार ३ सय ९७ वटा मुद्दा विचाराधीन अवस्थामा छन् । अदालतले दुई वर्ष नाघेका बाँकी मुद्दा १ हजार ८ सय ५३ वटा रहेको बताएको छ । त्यस्तै फैसला कार्यान्वयनतर्फ चालु आवको असार २७ गतेसम्म जम्मा लगत ३३ हजार ३ सय ९३, फछ्र्यौट ४ हजार १ सय ८०, बाँकी २९ हजार २ सय १३ रहेको छ ।

    कैदतर्फ ८२ प्रतिशत फछ्र्यौट भएका छन् भने जरिवानातर्फ ४२ प्रतिशत फछ्र्यौट भएका छन् । सरकारी बिगोतर्फ ३७ लाख ३४ हजार ४ सय ५९ फछ्र्यौट भएका छन् भने निवेदनतर्फका २ हजार ४ सय २७ फछ्र्यौट भएका छन् ।

    त्यस्तै मेलमिलापतर्फ मेलमिलाप केन्द्रमा पेश भएका २ हजार ७ सय ५ मुद्दामध्ये सफल भएका मुद्दाको संख्या ३ सय १ रहेको छ । मेलमिलाप शाखामा चालु रहेका मुद्दा ३ सय ८४ र मेलमिलाप हुन नसकी फिर्ता भएका मुद्दा २ हजार २० रहेको छ । मेलमिलापतर्फ कुल सफल प्रतिशत १४.२० रहेको छ ।

    अदालतले २०७७/७८ मा ३७.०९, २०७८/७९ मा ३९.२९, २०७९/८० मा ४२.४५, २०८०/८१ मा ४६.८१ र २०८१/८२ मा ५१.२९ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । काठमाडौं जिल्ला अदालतमा न्यायाधीशहरुको जम्मा दरबन्दी ४३ रहेकोमा अहिले ३९ जना कार्यरत छन् ।

    अन्य अदालतबाट काजमा जानुभएको न्यायाधीशको संख्या २ गरी अहिले काम गरिरहनुभएको न्यायाधीशको संख्या ३७ रहेको अदालतले जनाएको छ । अदालतले कार्यबोझ, न्यायाधीश तथा कर्मचारीहरुको दरबन्दीअनुसार अदालतको भवन लगायतको भौतिक अवस्था अपुग रहेको भट्टराईको भनाइ छ ।


    प्रतिक्रिया दिनुहोस