काठमाडौं । कान्ति बाल अस्पतालमा उपचारका क्रममा चिकित्सकको लापरबाहीका कारण छोरी दिव्याङ्का उपाध्यायको मृत्यु भएको दाबी गर्दै आमा यशोदा बस्नेतले डा. आशिष श्रेष्ठ र डा. सुमन अधिकारीलाई विपक्षी बनाएर मुद्दा दायर गरेकी छन् ।
पीडितले दायर गरेको फिराद–पत्रअनुसार दिव्याङ्का अढाई वर्षमा नै दोहोरो कुरा गर्न सक्ने उनको परिवारकै एक मात्रै सन्तान र भविष्यको आधार थिइन् । यो उमेरसम्म उनलाई कुनै किसिमको रोग थिएन । तर एकै छिनको बिरामी र उपचारका क्रममा चिकित्सकको लापरबाहीका कारण छोरी गुमाए ।
फिरादपत्रमा विपक्षीहरूको लापरबाहीपूर्ण व्यवहारले आफ्नो परिवारको आर्थिक, भौतिक, सामाजिक तथा मानसिक क्षति भएको हुँदा सम्मानित अदालत समक्ष फिराद दिन बाध्य भएको भन्दै एक करोड १० लाख २५ हजार रुपैयाँ बराबरको क्षतिपूर्ति माग गरिएको छ ।
अस्पतालकै एकजना चिकित्सकले एजीबीको मेसिन बिग्रिएको पीडितसँग बताएका थिए । तर अस्पतालले यसरी बिग्रिएकै मेसिनबाट बच्चाको उपचार गराएर चरम लापरबाही गरेको फिरादपत्रमा उल्लेख छ ।
त्यस्तै अस्पतालले आफूहरूलाई दिएको रिपोर्टमा ४५ मिनेट सीपीआर गराइएको छ भनिएको छ । सोको बारे समेत जानकारी नगराएको पीडितले बताएका छन् । ‘मिति २०८२ जेठ ९ र १० गतेको ‘एक्स रे एण्ड क्लिनकल टेष्ट’ गरेर हेरे पछि दायित्व पूरा नगरेको कारणले हामीले हाम्रो छोरी गुमाउनु परेको अवस्था छ । विपक्षीहरूले उपलब्ध गराएको कागज हेर्दा पनि चिकित्सकीय लापरबाहीका कारणले हाम्री छोरी मारिएको अवस्था हो ।’ पीडितले भनेका छन् ।
‘संविधानको धारा ४४ (२) ले यस्तो प्रकृतिको लापरबाही उपर विपक्षीहरूबाट क्षतिपूर्ति पाउने मौलिक हक र उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ (२) (क), (ढ), र (थ) बमोजिमको अनुचित व्यवसायजनक कार्य गरेको हुँदा म फिरादीले क्षतिपूर्ति पाउने प्रष्ट भएकाले माग बमोजिम इन्साफ हुने प्रस्ट छ ।’ फिराद–पत्रमा भनिएको छ ।
उपभोक्ता संरक्षण ऐन २०७५ का दफा (४१) कोे (१) बमोजिम नेपाल राजपत्र २०८१–१० –२८ मा गठित उपभोक्ता अदालतको क्षेत्राधिकारभित्र पर्ने भएकाले यस विषयमा आफूले अन्यत्र फिराद नगरेको पीडितले बताएका छन् ।
झापाको बिर्तामोड नगरपालिका– १ स्थायी घर भई हाल ललितपूर–१५ खुमलटार बस्दै आएका बुवा दिवाकरप्रसाद उपाध्याय र आमा यशोदा बस्नेतकी छोरी दिव्याङ्काको उपचारका क्रममा गत जेठ ११ गते कान्ति बाल अस्पतालमा मृत्यु भएको थियो ।
पीडित पक्षले अदालतमा पेश गरेको फिराद–पत्रमा उल्लेख भएअनुसार गत जेठ ९ गते दिउँसो ४ बजे अत्यधिक पेट दुखेर अस्पताल ल्याइएकी बालिकालाई इमर्जेन्सीमा कार्यरत चिकित्सक तथा नर्सहरूले सामान्य चेकजाँचपछि ‘ब्लडर’ मा पानीको फोका देखिएको भन्दै भिडिओ एक्सरे, पिसाब, तथा रगत जाँच गर्न लगाएका थिए ।
सबै जाँचको रिपोर्ट सामान्य आएकाले केही औषधि खान दिएर राति ९ः३० बजेतिर सर्जिकल वार्डमा पठाइएको थियो । त्यसबेलासम्म बालिकाको अवस्था सामान्य रहेकोमा त्यसको भोलिपल्ट जेठ १० गते बिहान ३ बजे छोरीलाई ज्वरो आएपछि डाक्टरले औषधि खान दिए । पुनः रगत, पिसाब जाँच तथा भिडिओ एक्सरे गर्न लगाएर रिपोर्ट सामान्य आएको जानकारी गराए ।
सोही दिन १२ बजे छोरीको एक्कासी पेट फुल्न थाल्यो । के भएको भनेर सोद्धा स्पष्ट जानकारी नदिएको पीडितको आरोप छ । केही समयपछि छोरीले लगातार रुपमा बान्ता गर्नुका साथै हरियो र रगत मिसिएको दिसा गरिन् । पीडितका अनुसार शरीर चिसो भए पनि ज्वरो नाप्दा १०३–१०४ डिग्रीसम्म देखाइरहेको थियो । बच्चाको यस्तो संवेदनशील अवस्थामा पनि बच्चालाई यस्तै हुन्छ, यो सामान्य हो भन्दै डाक्टरले टारे ।
फिराद–पत्रको व्योहोराअनुसार सोही दिन राति ९ बजेपछि पुनः एक्सरे गरेर बच्चाको थप उपचारको लागि नाकबाट पाइप समेत राख्नुपर्ने हुनसक्छ भनेर इञ्चीटेपले पेट नापेर नाकबाट पाइप छिराएर पेटमा भएको फोहोर निकाल्नुपर्छ भनियो । उक्त समयमा बच्चाले पानी माग्दा पनि खान नदिई चरम ‘मेडिकल नेग्लिजेन्सी’ अर्थात् चिकित्सकीय लापरबाही गरेको प्रष्ट हुन्छ ।
यसैबीच जेठ ११ गते आइतबार ९–१० बजेतिर थप उपचारका लागि भनेर लगियो । यस बेलासम्म पनि छोरीको स्वास्थ्य अवस्था सामान्य नै छ भन्ने जानकारी उपचारमा संलग्न चिकित्सकहरुले दिइरहेका थिए । त्यसको केही समयपछि डा. अधिकारीसहितको टोली उपचारका लागि आयो र बच्चाको बारेमा सोद्धा यो मेरो ‘फेकल्टी’ होइन पछि जानकारी पाउनुहुन्छ भन्दै सत्य कुरा लुकाइयो ।
‘सोही दिन १२ बजेतिर बच्चालाई निमोनिया भएको र फोक्सोमा पानी जमेको छ भन्ने सूचना आयो । यसरी लगातार शुक्रबार, शनिबार पटक पटक सबै जाँचहरू गर्दागर्दै पनि पछि एक्कासी फोक्सोमा पानी जमेको छ भन्नुले विपक्षीबाट उपचारमा लापरबाही भएको कुरा प्रष्ट देख्न सकिन्छ ।’ फिराद–पत्रमा उल्लेख छ ।
त्यस्तै सोही दिन शनिबार राति १०ः३० बजे चिकित्सकहरूले फेरि भिडिओ एक्सरे गर्नुपर्ने बताए । अस्पतालमा शनिबार उक्त सेवा नहुने भएकाले बाहिर कतै लगेर एक्सरे गर्नु भनेर कुनै अस्पताललाई रेफर नै नगरी डाक्टरको प्रेसकिप्सन बिनै बाहिर पठाइयो ।
‘रातिको समयमा कतै पनि भिडिओ एक्सरे गर्ने ठाउँ नभेटिए फर्कियौं पछि अस्पतालले भिडिओ एक्सरे गर्नुपर्ने बिरामीको सामान्य एक्सरे मात्रै गर्यो । यहीँबाट पनि अस्पताल तथा चिकित्सकहरूले आफूलाई मनलाग्दो किसिमले स्वास्थ्य उपकरण चलाई लापरबाही गरेको तथ्य प्रष्ट हुन्छ ।’ फिराद–पत्रमा भनिएको छ ।
उपचार सुरु गरेको तीन दिन पछि आइतबार करिब ११ बजे डा. सुमन अधिकारीको ग्रुप आई सम्पूर्ण चेकजाँचसहित फेरि भिडिओ एक्सरे गर्न लगाइएको र यसबेला बच्चाको अवस्थाबारे बुझ्दा डा. सुमनले बच्चाको रगतमा र छातीमा केही समस्या छ । यो मेरो ‘फेकल्टी’ होइन अर्को डाक्टरले हेर्नुहुन्छ भन्दै रेफर गरियो । यस्तो संवेदनशील अवस्थामा बच्चालाई रेफर गरेको र डाक्टर तीन बजेमात्रै आइपुगेको पीडितले बताएका छन् ।
पीडितका अनुसार डाक्टर आएपछि ३ः४५ बजे मात्रै आइसियुमा लगिएको र केही स्वास्थ्य उपकरण र औषधि छिटो किनेर ल्याउन भनियो । डा. आशिष श्रेष्ठसहितको टोलीले बच्चालाई भेण्टिेलेटरमा लगिसकेको रहेछ । सोको बारेमा आभिभावकलाई जानकारी गराई अनुमति लिनुपर्नेमा आफूहरूलाई कुनै जानकारी नगराई त्यसको केही समय पछि ६ः३० बजेको समयमा बच्चाको मृत्यु भएको जानकारी गराएको पीडिटको भनाइ छ ।
यसरी अस्पताल जानुअघि तथा अस्पताल लगेको भोलिपल्टसम्म हाँस्ने खेल्ने बच्चा एकै दिनमा एचडीओबाट आईसीयू, आईसीयूबाट भेण्टिलेटरमा पुर्याई कसरी मृत्युवरण गर्न पुग्छ ? निमोनियाकै कारण एकै दिनमा बच्चाको कसरी मृत्युवरण हुन पुग्छ ? यी सम्पूर्ण उब्जिएका प्रश्नहरूले लापरबाही भएको प्रष्ट हुन्छ फिराद–पत्रमा भनिएको छ ।