काठमाडौँ । कोशी प्रदेश सभाले बनाएको ‘स्थानीय सेवा गठन तथा सञ्चालन ऐन, २०८०’ को एउटा दफाको दुई वटा उपदफा नै खारेज भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले असार २५ गते उक्त ऐनका दुई उपदफा बदर गर्ने फैसला गरेको हो ।
प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र डा. मनोजकुमार शर्माको संवैधानिक इजलासले रिट निवेदकहरूको मागदाबी सदर गर्दै प्रदेश ऐनका उक्त विभेदकारी दफालाई बदर गर्ने फैसला सुनाएको हो । यद्यपि फैसलाको पूर्ण पाठ भने आइसकेको छैन ।
सर्वोच्चको यो फैसलासँगै कोशी प्रदेशका पालिकाहरूमा छैटौँबाट सातौँ र आठौँबाट नवौँ तहमा भएका बढुवाहरू स्वतः बदर हुनेछन् । फैसलाको पूर्णपाठ आएपछि यो निर्णय कार्यान्वयनमा जाने र बढुवा भएका कर्मचारीहरू पुरानै तहमा घटुवा हुनेछन् । यसले निजामती सेवाबाट समायोजन भएका कर्मचारीहरूका लागि भने बढुवाको बन्द भएको ढोका खोलेको छ ।
यो फैसलासँगै करिब एक वर्षअघि कोशी प्रदेशका विभिन्न पालिकामा भएका बढुवा गैरकानुनी ठहरिएका छन् । जसले गर्दा बढुवा पाएका कर्मचारीहरू पुरानै तहमा फर्किनुपर्ने भएको छ । त्यस्ता कर्मचारी कोशी प्रदेशमा अनुमानित ४ सयको संख्यामा रहेको कर्मचारीवृत्तले जनाएको छ । यद्यपि यसको आधिकारिक विवरण आएको छैन ।
कोशी प्रदेश सभाबाट पारित भएको ‘स्थानीय सेवा गठन तथा सञ्चालन ऐन, २०८०’ ले निजामती सेवाबाट समायोजन भएर आएका कर्मचारीलाई बढुवा प्रक्रियामा सामेल नगराउने प्रावधान राखेको थियो । उक्त ऐनको दफा ८ को उपदफा १६ र १७ मा ‘निजामती सेवा बाहेक’ अन्य सेवाबाट समायोजित भएका कर्मचारीको मात्र बढुवा हुने व्यवस्था गरिएको थियो ।
यही व्यवस्था संघीय ‘कर्मचारी समायोजन ऐन, २०७५’ र संविधानको समानताको हकसँग बाझिएको भन्दै मेचीनगर नगरपालिकाका लेखा अधिकृत पदमबहादुर कार्की, भद्रपुर नगरपालिकाका प्रशासकीय अधिकृत खेम प्रसाईं लगायत कोशी प्रदेशका करिब ६० जना कर्मचारीले २०८० साल माघमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
उनीहरूको मुख्य जिकिर समायोजन ऐन, २०७५ अनुसार साविककै सेवाबाट ज्येष्ठता गणना हुनुपर्ने र बढुवाको अवसरबाट वञ्चित गर्न नपाइने भन्ने थियो ।