काठमाडौँ । घुससहित रंगेहात पक्राउ परेका राष्ट्रिय किताबखाना (शिक्षक), छाउनीमार्ग तहाचल, काठमाडौँका शाखा अधिकृत धनेश्वर प्रसाईसहित २ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।
विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले घुस लिएको अभियोगमा अधिकृत प्रसाई र बिचौलिया सुदर्शन न्यौपानेलाई दोषी ठहर गर्दै कैद तथा जरिवानाको सजाय सुनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत पुस १४ गते प्रसाईलाई ३ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो । अनुसन्धानको सिलसिलामा प्रसाईसँग कार्यालय सहयोगी भवानी अधिकारी र बिचौलिया सुदर्शन न्यौपानेको पनि मिलेमतो पुष्टि भएको भन्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
प्रसाई एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनको शिक्षा मन्त्रालय विभागीय कार्यसमितिका कोषाध्यक्ष हुन् ।
उनले अवकाशप्राप्त शिक्षकको नियमानुसार बन्नुपर्ने पेन्सनपट्टा (निवृत्तभरण अधिकारपत्र) बनाइदिनको लागि विभिन्न बहाना बनाई घुस मागेका थिए । बिचौलियामार्फत घुस लिएपछि उनी अख्तियारको फन्दामा परेका थिए ।