काठमाडौं । देशका केही स्थानमा यति बेला (शनिबार बेलुका पौने ७ बजे) वर्षा भइरहेको छ । विभिन्न जिल्लामा मौसमी प्रणाली विकास भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
“हाल कोसी प्रदेश, मधेस प्रदेशको पूर्वी भूभागलगायत गण्डकी प्रदेशको स्याङ्जा, बागलुङ र कास्की, कर्णाली प्रदेशको जाजरकोट, सुर्खेत, डोल्पा, मुगु सिमिकोट आसपासको जिल्लामा मौसमी प्रणाली विकसित भई मेघगर्जन/चट्टयाङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ,” महाशाखाले भनेको छ ।
उक्त प्रणाली दक्षिण–पश्चिम दिशामा फैलने क्रममा रहेको भन्दै महाशाखाले ती क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा पश्चिम र मध्य नेपालमा सरदर स्थानभन्दा उत्तरतिर छ । पूर्वमा सरदर स्थानको आसपासमा रहेको महाशाखाले जनाएको छ ।