काठमाडौँ । न्याय परिषद्को बैठक आज आइतबार बस्दै छ । न्यायाधीश नियुक्ति र सरुवाका विषयमा निर्णयविहीन भएको र एकजना न्याय परिषद्का सदस्य पनि विदेश भ्रमणमा रहेका बेला प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले बैठक बोलाएका हुन् ।
स्रोतका अनुसार, विदेश भ्रमणमा रहेका न्याय परिषद् सदस्य दामोदर खड्काको सहमति लिएर प्रधानन्यायाधीश राउतले केही निर्णय गर्न बैठक बोलाएका हुन् । बैठक साँझ ५ बजेपछि बस्नेछ ।
प्रधानन्यायाधीश राउतले असार महिनाभित्रै ठूलो संख्यामा न्यायाधीश सरुवा गर्ने र उच्च अदालतमा केहीको नियुक्ति पनि गर्ने प्रयास गरेका थिए । तर, सदस्यबीच कुरा नमिलेपछि लगालग बसेका बैठक निष्कर्षविहीन भएका थिए ।
सदस्य खड्का साउन १३ गते मात्र स्वदेश फर्किनेछन् । त्यस्तै कानुनमन्त्री अजय चौरसियाले पनि साउन १४ सम्म आफूलाई अध्ययनको समय चाहिने भन्दै अडान लिएका थिए । उच्च अदालतमा हाल २ मुख्य न्यायाधीशसहित २७ न्यायाधीश पद रिक्त छन् ।