बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • किन मिलिरहेको छैन पानी पर्ने मौसम पूर्वानुमान ?


    हुलाक प्रेस

    • आइतबार, साउन ११ २०८२०८:१७
    किन मिलिरहेको छैन पानी पर्ने मौसम पूर्वानुमान ?

    काठमाडौं । यसपालि मनसुनमा पानी नपरेको भनेर कतिपय स्थानका बासिन्दाले रोष प्रकट गरिरहेका छन् । मौसमविद्ले वर्षा हुन्छ भन्ने तर ‘पर्याप्त’ पानी नपर्दा मानिस आजित छन् । 

    गर्मी र रोपाइँ गर्न समस्या भएको गुनासो सामाजिक सञ्जालमा देखिन्छ । मधेशमा पानी नपरेर सुख्खा खडेरी लागिरहेको छ । पानीको हाहाकार भइरहेको छ । मौसमविद् ‘फेल’ भइरहेको धेरैको टिप्पणी छ । यस्तो हुनुमा गलत सूचना र बुझाइ पनि एउटा कारण रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    नेपालमा मौसमको निगरानी गर्ने आधिकारिक निकाय हो, जल तथा मौसम विज्ञान विभाग । विभागकै एउटा शाखा मौसम पूर्वानुमान महाशाखा हो । महाशाखाले दैनिक रूपमा मौसमबारे जानकारी गराउने गर्छ । अरू केही स्वतन्त्र विज्ञले पनि सामाजिक सञ्जालमार्फत मौसमबारे बेलाबखत जानकारी गराउँदै आएका छन् । तर, पूर्वानुमान सधैँ मिल्दैन । अनि, पूर्वानुमानप्रति प्रश्न गर्ने गरिएको महाशाखाका मौसमविद् डेभिड ढकाल बताउँछन् ।

    मिडियाले स्वतन्त्र विज्ञलाई पनि ‘कोट’ गर्ने गरेका छन् । उनीहरूका पूर्वानुमान समेत सम्प्रेषण गरिन्छ । “मूलधारका मिडियाहरूले पनि आधिकारिकताभन्दा बाहिरी सोर्सबाट विभिन्न हेडलाइन लेख्ने यो चलन चलेको छ अहिले,” उनले भने, “विश्लेषण नगरीकन यत्तिकै आएका फेसबुक स्टाटसलाई नै समाचार बनाउने गरेको देखिएको छ ।”

    महाशाखाले गर्ने पूर्वानुमान सधैँ मिल्छ ? महाशाखाकै मौसमविद् भन्छन्– शतप्रतिशत मिल्दैन ।

    मौसम पूर्वानुमानका निम्ति सुरुमा वर्तमान अवस्थाको विश्लेषण गरिन्छ । त्यसपछि विभिन्न ‘मोडेल’ हेरिन्छ । अनि, आफूहरूबीच छलफलपश्चात् पूर्वानुमान जारी गरिने महाशाखाकी वरिष्ठ मौसमविद् शान्ति कँडेलले बताएकी छन् ।

    “साइन्स हेरेर अथवा कम्प्युटर मोडलिङ हेरेर हामी पूर्वानुमान गर्छौँ । मौसम पूर्वानुमानको अनिश्चितता हुन्छ, जहाँ पनि । यो नेपालमा मात्र होइन, विश्वव्यापी नै अनिश्चितताचाहिँ हुन्छ,” उनले भनेकी छन्, “अमेरिका, युरोपलगायत एकदम डेभलप कन्ट्रीहरूमा पनि पूर्वानुमान शतप्रतिशत मिल्दैन ।”

    उनका अनुसार, वायुमण्डलमा सानो गतिविधिले पूर्वानुमान फरक पर्न सक्छ । सानो रौँजस्तो ‘एक्टिभिटी’ वायुमण्डलमा हुँदा पनि पूर्वानुमान फरक पर्न सक्ने उनको भनाइ छ ।

    “एउट पुतली वायुमण्डलमा अस्थित्वमा छ भने भोलि अर्कै किसिमको मौसमी अवस्था हुनसक्छ भने त्यो पुतली छैन भने अर्कै किसिमको मौसमी अवस्था हुन्छ,” उनले भनिन्, “त्यो चिज क्याप्चर गर्न गाह्रो हुन्छ । त्यही भएर मौसम पूर्वानुमानमा अनिश्चितता हुने हो ।”

    वायुमण्डलमा हुने त्यस्ता सबै चिज ‘क्याप्चर’ गर्न नसक्दा कहिलेकाहीँ पूर्वानुमान आफूहरूले भनेअनुसार नहुने उनले स्पष्ट पारिन् । “पूर्वानुमान गर्दा पनि जति ठूलो स्टिम भयो त्यति हामीलाई क्याप्चर गर्न सजिलो हुन्छ भने स्थानीय वायुको असर गर्ने प्रणालीहरू हो भने हामीलाई क्याप्चर गर्न अलि गाह्रो हुन्छ,” उनले भनिन् ।

     

     

     


    प्रतिक्रिया दिनुहोस