काठमाडौं । निलम्बनमा परेका नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले सर्वोच्च अदालतमा दायर गरेको रिट हेर्न निमल्ने इजलासमा परेको छ ।
आजको पेशी अब्दुल अजिज मुशलमान र मनोजकुमार शर्माको संयुक्त इजलासमा परेको छ । यसअघि न्यायाधीश अब्दुल अजिज मुसलमानले कारण देखाउ आदेश जारी गरेकाले हेर्न मिल्दैन । आफूविरुद्ध गठन गरिएको छानबिन समिति खारेज तथा निलम्बनमा फुकुवाको माग गर्दै ओझाले सर्वोच्चमा रिट दायर गरेका थिए । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाबारे छानबिन गर्न सरकारले असार ३० गते समिति बनाएको थियो ।
ओझाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र छानबिन समितिलाई विपक्षी बनाई संयुक्त रूपमा रिट दायर गरेका हुन् । ओझाले छानबिन समितिका अध्यक्ष कृष्ण गिरी तथा सदस्यद्वय जीवन प्रकाश सिटौला र कपिलदेव ओलीलाई पनि विपक्षी बनाएका छन् ।
उनको आचरण, पदीय मर्यादा र कार्यक्षमताबारे छानबिन गर्न समिति बनाइएको हो । छानबिन समिति गठन भएसँगै अध्यक्ष ओझा स्वतः निलम्बनमा परेका थिए । बीमा ऐन २०७९ को दफा १२ को उपदफा ३ अनुसार अध्यक्ष वा सदस्यको हकमा छानबिन समिति गठन भएमा स्वतः निलम्बन हुने व्यवस्था छ ।
यता ओझाविरुद्ध दायर अर्को रिटमा सर्वोच्च अदालतले पूर्ण सुनुवाइको निम्ति पेस गर्न आदेश जारी गरेको थियो । जेठ १९ गते न्यायाधीश मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले रिट जारी गर्न अस्वीकार गर्दै पूर्ण सुनुवाइको निम्ति पेस गर्न आदेश जारी गरेको थियो । सो मुद्दा तीन जना न्यायाधीशको इजलासमा सुनुवाइ हुने छ ।
चैत १७ गते अधिवक्ता इन्दिरा धमलाले दायर गरेको रिटमा चैत २० गते सुनुवाइ गर्दै न्यायाधीश डा. नहकुल सुवेदीको एकल इजलासले कारण देखाऊ आदेश जारी र अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । त्यसपछि ६ पट पेसी चढे पनि एकपटक हेर्न नमिल्ने र ५ पटक हेर्न नभ्याइनेमा पर्दै आएको रिटमाथि जेठ ५ गते सुनुवाइ भएको थियो ।