बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • कांग्रेस बागमती संसदीय दलको नेता चयनका लागि आज मतदान


    हुलाक प्रेस

    • बुधबार, साउन १४ २०८२०७:२६
    कांग्रेस बागमती संसदीय दलको नेता चयनका लागि आज मतदान

    काठमाडौँ । नेपाली कांग्रेस बागमती संसदीय दलको नेताको चयनको प्रक्रिया बुधबार (आज) हुने भएको छ । 

    मंगलबार हेटौंडामा बसेको नेपाली कांग्रेस बागमती प्रदेश समितिको बैठकले प्रदेशका सहमहामन्त्री हरिशरण श्रेष्ठको संयोजकत्वमा सहमहामन्त्रीद्वय ऋषिराम घिमिरे र जीवन डंगोल सदस्य रहनेगरी निर्वाचन समिति गठन गरेको थियो । सोही समितिले निर्वाचनको तालिका सार्वजनिक गरेको हो । 

    समितिले सार्वजनिक गरिएको निर्वाचन तालिकाअनुसार उम्मेदवारी दर्तादेखि मतगणनासम्मका सम्पूर्ण प्रक्रिया बुधबार नै सम्पन्न गरिनेछ । 

    उनका अनुसार बुधबार बिहान ८ बजे निर्वाचनमा सहभागी हुने मतदाताहरूको नामावली प्रकाशन गरिनेछ बताइएको छ । मतदाता नामावली उपर दाबी विरोध सच्याउने समय ८ः३० देखि ९ बजेसम्मका लागि तोकिएको छ भने दाबी विरोध उपर जाँचबुझ गरी अन्तिम नामावली ९ः३० मा प्रकाशन गन् संयोजक श्रेष्ठले बताएका छन् ।

    उम्मेदवारहरूको लागि दरखास्त बिहान १० बजेदेखि ११ बजेसम्म, उम्मेदवारको प्रथम नामावली प्रकाशन ११ः३० मा गर्ने बताइएको छ । यस्तै, उम्मेदवारको दरखास्त विरुद्ध दाबी विरोध ११ः३० देखि १२ बजेसम्मका लागि समय तोकिएको छ । 

    उम्मेदवारको नामावली प्रकाशन १२ बजे, उम्मेदवारले उम्मेदवारी फिर्ता लिन चाहेमा १ घण्टाको समय छुट्याइएको छ । १२ देखि १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्ने समय छुट्याइएको छ भने दिउँसो १ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समिति संयोजक श्रेष्ठले जानकारी दिए । 

    उनका अनुसार दलको नेताको लागि मतदान दिउँसो २ बजेदेखि ३ बजेसम्ममा हुने र मतदान प्रक्रिया सकिए लगत्तै मतगणनाको प्रक्रिया सुरु गरिने श्रेष्ठले बताए । 

    मतदान प्रदेश सभा भवन परिसरमा रहेको नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालय, हेटौंडामा सम्पन्न हुनेछ । मतदान सकिएपछि मतगणना तुरुन्तै सुरु गरिने बताइएको छ । समितिले निर्वाचन प्रक्रिया निष्पक्ष, स्वच्छ र समयमै सम्पन्न गर्ने प्रतिवद्धता जनाएका छन् ।

     


    प्रतिक्रिया दिनुहोस