बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • खडेरीले आहात मधेशमा भारी वर्षाले राहत


    हुलाक प्रेस

    • शनिबार, साउन १७ २०८२०९:३२
    खडेरीले आहात मधेशमा भारी वर्षाले राहत

    काठमाडौं । मधेशका केही जिल्लामा भारी वर्षा भएको छ । बर्खाको समयमा लामो समयदेखि सुक्खाग्रस्त मधेशका केही ठाउँमा गत २४ घण्टामा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    लामो समय वर्षा नहुँदा मधेश सुक्खाग्रस्त बनेको थियो । सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । रोपाइँसमेत हुन नसकेको मधेशमा शुक्रबारदेखि भएको वर्षाले राहत भएको छ ।

    आज बिहान गरिएको मापन अनुसार धनुषा जिल्लाको तुल्सी केन्द्रमा ६३.८ मिलिमिटर वर्षा भएको छ । धनुषाकै हर्दिनाथमा ५१ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै रौतहटको गौरमा ४४.६ र बाराको अमलेखगंजमा ४६.४ मिलिमिटर वर्षा भएको छ ।

    २४ घण्टामा ५० देखि १०० मिलिमिटर वर्षा हुनुलाई मौसम विज्ञानमा भारी वर्षा भएको मानिन्छ भने १० देखि ५० मिलिमिटरसम्मलाई मध्यम वर्षा भएको मानिन्छ ।

    मधेश प्रदेशका अन्य जिल्लामा पनि हल्कादेखि मध्यम वर्षा भएको छ । सर्लाहीमा ३७.६, महोत्तरीको गौशाला स्टेशनमा ३२.४ मिलिमिटर वर्षा भएको छ । सिरहा र सप्तरीमा भने वर्षा कम भएको छ ।

    आइतबार पनि मधेशमा मध्यमदेखि भारी वर्षा हुने प्रक्षेपण गरिएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तरतिर (नेपालतिर) सर्ने क्रममा रहेकाले थप वर्षा हुने सम्भावना रहेको मौसमविद्को पूर्वानुमान छ ।


    प्रतिक्रिया दिनुहोस