काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेस गरेका छन् ।
सोमबार सत्ता गठबन्धन दल नेकपा एमाले २७ र कांग्रेसको ३७ सांसदको समर्थनमा नेता बानियाँले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई मुख्यमन्त्रीमा दाबी गर्दै पत्र बुझाएका हुन् ।
प्रदेश प्रमुख कार्यालयले सोमबार एक विज्ञप्ति जारी गर्दै मङ्गलवार दिउँसो २ बजेसम्म नेपालको संविधानको धारा १६८ को २ बमोजिम सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले केहीबेर अगाडी आफ्ना प्रमुख स्वकीय सचिव छत्रबहादुर लामामार्फत प्रदेश प्रमुखको कार्यालयमा पदबाट राजीनामा दिएको पत्र बुझाएका थिए ।
यही साउन १४ गते भएको पार्टी संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँसँग पराजित भएपछि पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा मुख्यमन्त्री लामाले राजीनामा दिएका हुन् ।
मुख्यमन्त्री लामाले राजीनामा दिएपछि कांग्रेस संसदीय दलमा निर्वाचित बानियाँको नेतृत्वमा सरकार गठनको बाटो खुलेको छ ।