काठमाडौँ । १८ वर्षअघि भएको रौतहटको गौर हत्याकाण्डमा जोडिएका जसपा अध्यक्ष उपेन्द्र यादवमाथि छानविन गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ ।
गौर हत्याकाण्डमा यादवमाथि छानबिन गरी कारबाहीको माग गर्दै परेको रिटमा सोमबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले जिल्ला प्रहरी कार्यालय रौतहटको नाममा छानविन गर्न परमादेश गरेको हो ।
१८ वर्षअघि भएको गौर हत्याकाण्डको छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने मागसहित पीडितले रिट दिएका थिए ।
गौर हत्याकाण्डमा जिल्ला प्रहरी कार्यालय रौटहटमा जाहेरी दिँदासमेत छानबिन नभएको भन्दै अनुसन्धान अघि बढाउन आदेश माग गर्दै २१ जेठ २०८० सालमा मारिएकाहरूको आफन्तहरुका तर्फबाट त्रिभुवन साहले सर्वोच्चमा रिट दायर गरेका थिए ।
२०६३ साल चैत ७ गते रौतहटको सदरमुकाम गौरस्थित राईसमिलको चौरमा मधेसी जनअधिकार फोरम र तत्कालीन नेकपा माओवादीले एकै स्थानमा मञ्च तयार पारी कार्यक्रमको आयोजना गर्दा झडप हुँदा २७ जना माओवादी कार्यकर्ताको हत्या भएको थियो । सो घटनामा ५० भन्दा बढी माओवादी कार्यकर्ता घाइते भएका थिए ।
नेकपा माओवादीले एउटै चौरमा सभा गर्न लाग्दा दुई पक्षबीच झडप भएको थियो ।
हत्यामा तत्कालीन जनअधिकारका अध्यक्ष यादवलगात फोरमसम्बद्ध नेता, कार्यकर्ताको हात रहेको दाबी गरेको छ ।
पीडित परिवारका तर्फबाट रिट दर्ता गराएका छन् भने उक्त घटनाको पुनः अनुसन्धान र प्राप्त प्रतिवेदनका आधारमा मुद्दा दायर गर्न माग गरिएको थियो । मुद्दामा रौटहट प्रहरी, सरकारी वकिल कार्यालय, प्रहरी प्रधान कार्यालय, गृह मन्त्रालयलगायतलाई विपक्षी बनाइएको छ ।
यस घटनामा राष्ट्रिय मानवअधिकार आयोगले छानविन गर्दा माओवादी कार्यकर्तालाई लक्षित गरि पुर्वनियोजित र संगठित रुपमा आक्रमण गरिएको ठहर समेत गरेको थियो ।