बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सौतेनी छोराको अंशबारे सर्वोच्चको व्याख्याः ‘जुनसुकै स्रोतको सम्पत्तिमा पनि समान हक लाग्छ’


    हुलाक प्रेस

    • शुक्रबार, भदौ ६ २०८२११:०८
    सौतेनी छोराको अंशबारे सर्वोच्चको व्याख्याः  ‘जुनसुकै स्रोतको सम्पत्तिमा पनि समान हक लाग्छ’

    काठमाडौँ । सर्वोच्च अदालतको पूर्ण इजलासले सौतेनी आमा र अर्कोपट्टिबाट जन्मेको छोराको हकबारे विस्तृत व्याख्या गरेको छ ।

    न्यायाधीशहरू नहकुल सुवेदी, टेकप्रसाद ढुङ्गाना र बालकृष्ण ढकालको इजलासले बाबु आमा र सौतेनी आमाले कमाएको सम्पत्तिमा छोरासरह हक लाग्ने व्याख्या गरेको हो ।

    २१ चैत २०८१मा भएको फैसलाको पूर्ण पाठ सर्वोच्चले हालै मात्र सार्वजनिक गर्दै सौतेनी र आफ्नो छोरा भनी अंशमा विभेद गर्न नपाउने व्याख्या गरेको हो ।

    ‘जहाँसम्म बाबुआमाले जुनसुकै स्रोतबाट प्राप्त सम्पत्ति छोराछोरीको लागि पैतृक हुने भन्ने सिद्धान्त एकै हाँगाका हकमासम्म लागू हुने हो, सौतेनी आमा छोराको हकमा यो व्यवस्था आकर्षित हुन सक्दैन भन्ने पुनरावेदन जिकिरमा सहमत हुन सकिएन,’ फैसलाको पूर्ण पाठमा भनिएको छ, ‘अंशबन्डा सम्बन्धी तत्काल कायम रहेको मुलुकी ऐन तथा हाल प्रचलित मुलुकी देवानी संहिता, २०७४ समेतले 'आमा' वा 'छोराछोरी'लाई परिभाषित गर्दा सौतेनी आमा वा सौतेनी छोरालाई बाहेक गरेको देखिँदैन। मुलुकी ऐन, अंशबन्डाको महलको १नं., ३ नं. वा १० नं. लगायतका कानुनी व्यवस्थाले 'आमा' र 'सौतेनी आमा' वा 'छोरा' र 'सौतेनी छोरा'लाई फरक व्यवहार गरेको पनि देखिँदैन ।’

    एकभन्दा बढ्ता स्वास्नी वा एक भन्दा बढ्ता स्वास्नीपट्टिका छोराछोरी हुनेले मन परेका स्वास्नी छोराछोरीलाई मात्र बकस गर्न नहुने भन्ने कानुनी व्यवस्था गरी एकभन्दा बढी हाँगातर्फका छोराछोरी भएको अवस्थामासमेत एकै हाँगाका छोराछोरीसरह समान रूपले अंशबन्डा गर्नुपर्ने व्यवस्था कानुनले गरेको फैसलामा भनिएको छ।

    कानुनले अंशबन्डाको प्रयोजनको लागि आमा वा छोराछोरीलाई र सौतेनी आमा वा सौतेनी छोराछोरीलाई समान अर्थमा लिएको सर्वोच्चको व्याख्यामा उल्लेख छ ।

    एकभन्दा बढी स्वास्नी भएमा उनीहरुबीच अंश गरी छोराछोरीको हकमा आ-आफ्नो हाँगाको सम्पत्ति मात्र बन्डा लाग्ने गरी व्यवस्था कानुनले नगरेको फैसलाको पूर्ण पाठमा उल्लेख छ ।

    कानुनले स्पष्ट अलग गरेको अवस्थामा बाहेक अंशबन्डा सम्बन्धी कानुनमा प्रयुक्त 'आमा'शब्दले सौतेनी आमा समेतलाई र 'छोरा' शब्दले सौतेनी छोरासमेतलाई समेटेको सर्वोच्चको व्याख्यामा उल्लेख छ ।

    ‘बाबुआमाले जुनसुकै स्रोतबाट प्राप्त गरेको सम्पत्ति छोराछोरीको लागि पैतृक सरह हुन्छ। सौतेनी आमाले बकस पत्र दाइजो जुनसुकै माध्यमबाट प्राप्त गरेको सम्पत्ति आफ्नो छोराछोरीलाई पैतृक हुन्छ,’ पूर्ण पाठमा भनिएको छ, ‘सौतेनी तर्फबाट जन्मेका छोराछोरीको लागि नहुने भनी व्याख्या गर्न मिल्दैन । कानुनले बन्डा गर्दा सबै अंशियारहरुबीच बराबर अंश पर्ने गरी बराबर बन्डा गर्नुपर्ने व्यवस्था गरेको छ । ’ मुलुकी ऐन, अंशबन्डाको महलको १० नं.मा मुख्यगरी लोग्ने वा बाबुआमाले स्वास्नी छोराछोरीलाई इज्जत अनुसार खान, लाउन र आवश्यकताअनुसार उचित शिक्षा दीक्षाको व्यवस्था गर्नुपर्ने वा सो नगरे अंश दिनुपर्ने कानुनी व्यवस्था गरी बाबुआमा वा अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई अंश दिनुपर्ने दायित्व निर्धारण गरेको फैसलामा उल्लेख छ ।

    ‘अंश धन अन्तर्गतको सम्पत्ति आफ्नो उदरतर्फको छोरालाई मात्र पैतृक सरह हुने हो । सौतेनी छोराको हकमा हुन सक्दैन भनी व्याख्या गर्नु न्यायोचित तथा उल्लिखित कानुनी व्यवस्थाको मर्म र भावना अनुकूल हुने देखिएन,’ फैसलाको पूर्ण पाठमा भनिएको छ, ‘सगोलको ऋण सबै अंशियारहरूको बन्डा लाग्ने भन्ने कानुनी व्यवस्थाको मकसद त्यस्तो ऋण सगोलका सबै परिवारको हितमा प्रयोग गरिएको अवस्थामा सम्म हो । ’

    के थियो विवाद ?

    भगवती पराजुली, नवराज पराजुली, प्रह्लाद पराजुली र प्रकाश पराजुली गरी ४ अंशियारकाबीचमा विवाद भयो ।

    नवराज पराजुली २०५४ सालमा प्रेम विवाह भई राहुल पराजुलीको जन्म भएको थियो। घर परिवारको मञ्जुरीबिना विवाह गरेकोले विवाह भएको केही समय डेरामा बसेर उनी घरमा गइन् । तर परिवारमा राम्रो सम्बन्ध नभएपछि उनी अलग बसिन् । नवराज पराजुलीले पहिलो श्रीमती अलग बसेपछि शशी पराजुलीसँग दोस्रो बिहे गरे । त्यसपछि भगवतीले अंश दाबी गरी जिल्ला अदालत काठमाडौँमा फिराद पत्र दर्ता गरिन् । जिल्ला अदालतले दाबी नपुग्ने फैसला सुनायो । त्यसविरुद्ध भगवती पराजुली उच्च अदालत पुगिन् । शशी पराजुलीले पनि आफूले दाइजो पाएको सम्पत्ति पनि भागबन्डा भएको भनी उच्च अदालत पाटनमा दाबी गरिन् । दुवै पक्षको सम्पत्ति विवाद आएपछि उच्चले जिल्लको फैसला सदर गर्‍यो । यो विवाद अनि सर्वोच्च अदालत पुग्यो । सर्वोच्च अदालतले एक वर्षअघि शशी र भगवती पराजुलीका छोराहरूमा बराबर हक लाग्ने फैसला सुनायो ।

    फैसलाको मुख्य अंश

    सम्बन्धले सौतेनी आमा, कानुनमा आमाको हैसियत हुने
    माइतीबाट प्राप्त दाइजो बकस सम्पत्तिमा सौतेनी सन्तानको हक लाग्ने
    कसैले सम्बन्ध स्वीकार नगरेको अवस्थामा त्यो व्यक्तिको बयान प्रमाण नहुने
    महिलामाथि प्रश्न उठ्ने गरी डिएनए परीक्षण गर्न नहुने
    सगोलमा नबसेको सौतेनी छोराले सानी आमाको ऋण तिर्न नपर्ने
    बाबुआमा र सौतेनी आमाले कमाएको सबैखाले सम्पत्तिमा बराबर हक लाग्ने
    पहिलो पुस्तामा असमान हक लागेपछि एकै बाबुका दुई श्रीमतीबाट जन्मेका सन्तानको सम्पत्तिमा बराबर हक हुने


    प्रतिक्रिया दिनुहोस