काठमाडौँ । मितेरी सहकारी ठगी प्रकरणका तीन अभियुक्त मध्ये दुई जनालाई थुनामा पठाउन र एक जनालाई धरौटीमा छाड्ने आदेश जारी गरेको छ ।
ललितपुर जिल्ला अदालतमा न्यायाधीश निर्मला योङयाको इजलासले सुरेश अधिकारीलाई ७ लाख धरौटीमा छाडने आदेश गरेको छ भने ज्योतिबहादुर भण्डारी र सुवास खत्रीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।
सहकारी ठगी मुद्दामा ८ जना प्रतिवादी बनाइएकोमा प्रहरीले ३ जना मात्र पक्रेर अदालतमा पेस गरेको थियो । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङको पूर्वपत्नी ज्योति गुरुङसहित ५ जना फरार छन् ।
ललितपुरमा कार्यालय रहेको मितेरी सहकारीका अध्यक्ष कुम्भराज गुरुङ, महाप्रबन्धक ज्योति गुरुङ र पक्राउ परेका ३ जना सहित ८ जनालाई प्रतिवादी कायम गरेर मुद्दा दायर गरिएको थियो । सहकारीको रकम अपचलनमा प्रहरीले ज्योति गुरुङ र भण्डारीसँग १७ करोड बिगो मागदाबी लिइएको थियो ।
ज्योति बहादुर भण्डारीसँग ‘कनेक्सन’ देखिएका सुरेश अधिकारी र सुवास खत्रीलाई प्रहरीले राष्ट्र बैङ्क ऐन र हुण्डी सम्बन्धी कसुरमा थप १३ करोड बिगो मागदाबी गरिएको थियो ।
धेरैजसो थाइल्याण्ड र कम्बोडियामा बस्ने भण्डारीले ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचतको रकम मात्रै ठगेनन् । ‘आकर्षक व्याज’को लोभ देखाएर सहकारीका अध्यक्ष कुम्भराज गुरुङ र महाप्रबन्धक ज्योति गुरुङसँग व्यक्तिगत रूपमा करोडौं ठगेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धान निष्कर्ष छ ।
मितेरीको सावाँ ब्याज सहित १४ करोड र सहकारीका पदाधिकारीबाट थप रकम समेत गरेर उनले २२ करोड रुपैयाँ ठगेको भेटिएको छ ।