काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर भए पनि क्रिकेटर सन्दीप लामिछानेले तत्काल जेल जानु नपर्ने भएको छ।
पीडित भनिएकी किशोरी गौशाला २६ लाई जिल्ला अदालत काठमाडौंले बालिग ठहर गरेसँगै दोषी मानिए पनि सन्दीपलाई केही राहत मिलेको हो।
अदालतले पीडित भनिएकी गौशाला २६ को जन्म २०६१ असार १८ गते भएको पनि फैसलामा उल्लेख गरेको छ। यससँगै उनी घटना भएको समयमा १८ वर्ष पूरा भएको पनि अदालतले देखाएको छ।
पीडितको कमजोर आर्थिक अवस्थाको फाइदा उठाउँदै सन्दीपले युवतीको सहमतिबिना यौनसम्बन्ध राखेको अदालतको ठहर छ। सन्दीपलाई मुलुकी फौजदारी अपराध संहिता २०७४ को २१९ को १, २ र ३ (ङ) अनुसार सजाय गर्ने फैसला न्यायाधीशले गरेका छन् ।
३ (ङ) को व्यवस्था १८ वर्षभन्दा माथिको युवतीलाई जबरजस्ति करणी गर्दा आकर्षित हुन्छ । यसमा ७ देखि १० वर्षसम्म जेल सजाय हुन सक्ने कानूनी व्यवस्था छ । पीडित भनिएकी किशोरी बालिग भएको ठहरपछि सन्दीपका लागि अब पुस २५ मा हुने अर्को सुनुवाइका क्रममा कम्तीमा ७ देखि १० वर्ष सजाय निर्धारण हुन सक्छ।
मुलुकी फौजदारी अपराध संहिता २०७४ को २१९ (ङ) अनुसार सन्दीपलाई सजायको फैसला न्यायाधीश शिशिरराज ढकालले गरेका हुन्। जाहेरवालीलाई बालिग भनेर जिल्ला अदालतले व्याख्या गरेसँगै बलात्कारमा दोषी सन्दीपलाई राहत पनि मिलेको हो।
यस्तो अवस्थामा १० वर्षभन्दा कम सजाय तोकिएका मुद्दामा प्रतिवादीले थुनाबाहिरै रहेर उच्च अदालतमा पुनरावेदन गर्न पाउने कानुनी व्यवस्था छ। १० वर्षभन्दा कम सजाय निर्धारण हुने अवस्थामा सन्दीपले अब तत्काल जेल जानु नपर्ने भएको हो। उनले अब जेलबाहिरै रहेर उच्च अदालतमा पुनरावेदन गर्न भने पाउँछन्।
अदालतबाट दोषी ठहर भएसँगै अब सन्दीपको खेल करिअरमा भने पूर्णबिराम लाग्ने अवस्था आएको छ। यसअघि २०७९ पुस २८ गते उच्च अदालतको आदेशबाट थुनामुक्त भएका सन्दीप राष्ट्रिय टोलीमा फर्किएर खेलिरहेका थिए।