काठमाडौं । सर्वोच्च अदालतले नग्नता र अश्लीलताबीच तात्विक रुपमा फरक हुने भन्दै शिवरात्रिका बेलामा पशुपतिमा आउने नागाबाबाहरुलाई अश्लील भन्न नमिल्ने व्याख्या गरेको हो ।
सनातन परम्परा र धार्मिक दर्शन अनुसार नै उनीहरुले नागा रहने अभ्यास गरेको भन्दै सर्वोच्च अदालतले उनीहरुको धार्मिक क्रियाकलापलाई अश्लीलताको परिभाषाभित्र राख्न नहुने दृष्टिकोण अघि सारेको हो ।
शिवरात्रिको बेलामा पशुपतिमा आउने नागाबाबाहरुले अश्लीलता प्रदर्शन गरेको, उनीहरुको क्रियाकलापका कारण यौनहिंसालाई प्रवद्र्धन गरेकाले उनीहरुको क्रियाकलाप रोकिनुपर्ने माग सहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो ।
सर्वोच्च अदालतले त्यही रिट निवेदन खारेजीको निर्णय गर्दै नागाबाबाहरुको नग्नतामा अश्लीलता देख्न नहुने भनेको हो । ‘नग्नता बस्त्रविहीन शारीरिक अवस्था हो । अश्लीलताले यौनिक उत्तेजना प्रवर्धन गर्छ र त्यो सामाजिक र सांस्कृतिक रुपमा लाजमर्दो र आपत्तिजनक हो’ न्यायाधीशहरु डा. कुमार चुडाल र डा. नहकुल सुवेदीको इजलासले फैसलाको पूर्णपाठमा भनेको छ, ‘कला, संस्कृति, शैक्षिक उद्देश्य, चिकित्सकीय वा उपचार प्रयोजनका लागि यौनांग देखाउनुलाई अश्लीलता मान्न नसकिने ।’
अश्लीलतालाई सापेक्षिक रुपमा हेरिनुपर्ने भन्दै सर्वोच्च अदालतले एउटै कामकारवाही वा आचरण कुनै परिवेश समाजमा श्लील हुने अनि अर्को समाज र परिवेशमा अश्लील हुने औल्याएको छ ।
सर्वोच्च अदालतले सामाजिक स्वीकार्यतालाई अश्लीलताको निर्धारण गर्ने अर्को पक्ष भनेको छ । एक भारतीय नजीर उदृत गर्दै सर्वोच्चले भनेको छ, ‘नग्नतालाई स्वत ः अश्लील मान्न नसकिने र अश्लीलताको निर्धारण नग्नताको आधारमा नभई परिवेश र सामाजिक स्वीकार्यताको आधारमा हुनुपर्ने देखिन्छ ।’
सनातन अभ्यास र परम्परा अनुसार पशुपतिप्रतिको भक्ति, समर्पण र साधनाको रुपमा उनीहरु नाङ्गै बसेको भन्दै सर्वोच्च अदालतले त्यसमा कामूकता र यौनहिंसाको गुञ्जायस नहुने व्याख्या गरेको हो ।
सर्वोच्च अदालतले त्यसक्रममा तीन वटा मत अघि सारेको छ । नागा सन्यासीहरु परमहंस सन्यास परम्पराको एउटा मुख्य धार रहेको, ब्रम्हचिन्तन सांसरिक चिन्तन र वासनाबाट माथि उठेकाहरुले त्यो खालको अभ्यास गर्ने र त्यसलाई धार्मिक नियमकै पालना गरेको मानिने उसको व्याख्या छ ।
बस्त्र त्याग गर्नु लज्जा र अहंकारको पनि त्याग हो हुने भन्दै सर्वोच्चले त्यसलाई आफैमा मोक्ष प्राप्तिका लागि कडा तपस्या भनेको छ । सनातन हिन्दु परम्पराको अभिन्न अंगको रुपमा नागा अभ्यास रहेको भन्दै सर्वोच्चले व्याख्यामा भनेको छ, ‘शिवको आराधान गर्ने विशेष पर्वमा नागाहरुलाई पशुपतिमा निषेध गर्नु यससम्बन्धी आस्था, विश्वास र सनातन परम्परा विपरीत हुने देखियो ।’
शैव सम्प्रदायभित्रको अत्यन्त न्यून संख्यामा रहने नागा साधुहरुलाई शिवालयमा निषेध गर्दा धार्मिक अल्पसंख्यकहरुप्रति भेदभावजन्य व्यवहार हुने र उनीहरुको परम्परागत धार्मिक अभ्यासमा समेत हस्तक्षेप हुने सर्वोच्च अदालतको ठहर छ ।
सर्वोच्च अदालतले निर्णयको पूर्णपाठमा भनेको छ, ‘नागा साधुहरूको अभ्यास र व्यवहार सनातनदेखि चलिआएको अनि धार्मिक, सामाजिक र नैतिक दृष्टिले समेत स्वीकार्य नै मानिएको हुँदा उनीहरुले धार्मिक स्थलमा नैतिकता र शिष्टाचार विपरीत अश्लीलता प्रदर्शन गरेको देखिएन ।’