काठमाडौँ । ललितपुरको गोदावरीमा जारी एमाले विधान महाधिवेशनमा ९ समूह बनाएर प्रतिवेदनमा छलफल थालिएको छ ।
यसअघि १० समूह बनाउने भनिए पनि ९ वटा मात्र बनाएर केही बेरअघि छलफल सुरु गरिएको हो ।
विधान महाधिवेशनको पहिलो दिन अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव, महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन र सल्लाहकार परिषद्का संयोजक अमृत बोहोराले प्रतिवेदन पेस गरेका थिए ।
साथै स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले सचिवालय बैठकमा दर्ता गराएका फरक मत पनि समूह छलफलमा पेस गर्ने यसअघि नै निर्णय भइसकेको छ ।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नाराका साथ आयोजित एमाले विधान महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र ३१५ आयोजक सदस्य गरी कुल २ हजार ३ सय ४१ जना सहभागी छन् । एमालेले विधान महाधिवेशन आइतबारसम्ममा सक्ने तयारी गरेको छ ।
पार्टीका पूर्वउपाध्यक्षसमेत रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि यो विधान महाधिवेशनमा सहभागी हुन प्रयासमा थिइन् । तर अध्यक्ष ओलीले उनको पार्टी सदस्यता नै रद्द गरेपछि सहभागी हुन पाइनन् । जसका कारण भण्डारीपक्षधर रुष्ट छ । उनीपक्षीय नेताले जारी विधान महाधिवेशनमा आफ्ना फरक मत पनि पेस गर्दै छन् ।
पार्टीको दोस्रो विधान महाधिवेशनमा सहभागी हुन वञ्चित गरिएपछि भण्डारीले प्रतिनिधिहरूलाई आफ्नो चिठी बाँडेकी छन् ।