शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • विशेष सम्पादकीय

    सेप्टेम्बर ८ कालो दिन


    हुलाक प्रेस

    • सोमबार, भदौ २३ २०८२११:२७
    सेप्टेम्बर ८  कालो दिन

    एक सय ७९ वर्षअघि काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको कोतमा जङ्गबहादुर राणा र उनका भाइ–भैयादहरूले गरेको नरसंहारमा ४० जनाभन्दा बढी भारदार र सामान्य सिपाहीहरूको मृत्यु भएको थियो । त्यो घटना एउटा सामान्य घटना थिएन  । त्यतिबेलाको घटनालाई अहिले पनि कोतपर्वको रुपमा सम्झन्छन् । 

    नेपालको इतिहासमा ४० जनाको हत्या गर्न एक रात लागेको थियो । त्यो कोतपर्व जस्तै सम्झाउने घटना भदौ २३ सोमबार (सेप्टेम्बर ८) का दिन हुन पुगेको छ । कुशासनका विरुद्ध शान्तिपूर्ण रुपमा उत्रिएका जेन जी पुस्तालाई 'बा' हरुको शासनले गोलीले भुटेर शान्त पार्ने दुस्साहस भयो । १९ जना गोली हानेर हत्या भयो । प्रधानमन्त्री केपी शर्मा ओली जेनजीको रगतको नदीमा ढुंगा शेयर गरे । अझै पनि रगतको होली खेल्ने रहर बाँकी छ ? हतियारधारीहरुको कमाण्डर गृहमन्त्री रमेश लेखकले राजीनामा दिइसके । प्रधानमन्त्री ओलीको बहिर्गमन एक दिन निश्चित छ । तर पनि यो सरकारलाई आम नागरिकले धिक्कार भनिसकेका छन् । अझ पनि त्यही पदमा बसेर जनताको अगाडी नाक देखाउन लाज लाग्दैन । अब राजीनामाले मात्रै रगतको यो कलंक कहिल्यै पखालिने छैन । यसअघिका शासकले पनि यति धेरै रगतको होली खेलेका थिएनन् । २०६२/०६३ को दोस्रो जनआन्दोलनको समयमा १९ दिनमा मात्रै २५ जना नागरिकले ज्यान गुमाएका थिए । यस्तो क्रुर र आततायी जहानीयाँ राणा शासनकालमा पनि भएको थिएन । 

    काँग्रेस र एमालेको शासनकालमा देश कति लुटियो त्यसको हिसाब किताब जनताले राखेका छन् । नागरिकबाट उठेको करबाट सत्ताको हालीमोलीमा बसेर जनताका छोराछोरीमाथि गोली बर्साउँदा तपाई प्रधानमन्त्रीलाई त देखेन होला तर आम नागरिक भने भदौ २३ गतेलाई कालो दिन भनेर घोषणा गरिसके । सरकारमा बसिरहने नैतिकता त गुमिसक्यो अझै पनि रगतको नदीमा ढुंगा शयर गरेर कति दिन बस्न मन छ प्रधानमन्त्री ज्यू । भाद्र २३ को घटनालाई जनताले अब माफि दिने छैनन् । अब भन्ने छन् यो कालो दिन घटाउने कलंकको रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीको नाम लेखिनेछ । 

    तपाईहरुकै कार्यकालमा सार्वजनिक संस्थाको दोहन कसरी भए । संबैधानिक आयोगका पदाधिकारीमा कसरी वफादारी व्यक्ति नियुक्त भए । भ्रष्टाचारमा मुद्दा चलाउनुपर्ने व्यक्तिलाई कसरी अख्तियारका प्रमुख नियुक्त कसरी नियुक्त भए । भागवण्डामा भएका हरेक भ्रष्टाचार र देशमा भइरहेको असाधरण दोहनका विषयमा अहिलेका जेनजी पुस्ताले आवाज उठाएका हुन् । जेनजी पुस्ताले केवल खबरदारी मात्रै गरेका थिए । तर त्यसको बदला गोलाका वर्षा बर्साउने काम आततायी र बर्बर हो । कलेज ड्रेसमा झोला भिरेर आएका विद्यार्थीलाई भुटुटु गोली वर्साउँदा थोरै भए पनि नैतिकता देखाउन पर्छ कि पर्दैन । यो गम्भीर प्रश्न हो ।  कथित 'राष्ट्रिय बा' बनेका तपाई केपी शर्मा ओलीको नाम भदौ २३ को कालो दिनसँगै राष्ट्रिय कलंकको धब्बा जीन्दगीभर रहनेछ । जसलाई अब मेटाएर पनि मेटिन्न ।

    १९ जना निर्दोषको ज्यान जाँदा समेत नैतिक जिम्मेवारी लिन नसक्ने प्रधानमन्त्री ओलीलाई जेन जी पुस्ताले  कुन स्थानमा राख्ला ?  ओलीले बगेका ताता रगतको जवाफ के दिने ? अस्पतालमा छटपटाइरहेकाहरुको चिच्याहटको के जफाव दिने ? ज्यान गुमाएकाहरुका अभिभावकलाई के जवाफ दिने ? उनको राजीनमाले मात्र उनीमाथि लागेको दाग पखालिएला र? 


    प्रतिक्रिया दिनुहोस