काठमाडौं । अन्तरिम सरकारको नेतृत्व गर्नुपर्ने आन्दोलनकारीहरु जेन-जीको प्रस्तावमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की सकारात्मक देखिएकी छन् ।
नेपाली सेनाको मुख्यालय जंगी अड्डामा जेन-जीका प्रतिनिधिहरुले पूर्वप्रधानन्यायाधीश कार्कीको नाम प्रस्ताव गरेका थिए, जसलाई काठमाडौं महानगरपालिकाका मेयर बालेनले पनि समर्थन गरेका थिए ।
‘प्रारम्भिक प्रस्तावमा उहाँ सकारात्मक देखिनुभयो, छलफल र रायसल्लाहपछि बाँकी दृष्टिकोण बताउने भन्नुभएको छ’ जंगी अड्डा निकट स्रोतले भन्यो, ‘प्रस्ताव सकारात्मक भएपछि केही सरोकार र चासो भएकाले छलफलका लागि समय चाहिन्छ भन्नुभएको छ ।’
स्रोतका अनुसार पूर्वप्रधानन्यायाधीश कार्कीसँगको भेटपछि बालेन र जेन–जीका प्रतिनिधीहरुबीच छलफल भएको थियो । त्यसक्रममा उनीहरुबीच दुईवटा विषयहरुमा मूलभूत रुपमा बहस भएको स्रोतले बतायो । त्यस मध्येको एउटा विषय संविधान संशोधन सुझाव दिन समिति गठन गर्नेसम्मको छ । यदी यस्तो समिति गठन भए त्यसको सिफारिस कार्यान्वयन गर्ने जिम्मेवारी नयाँ बन्ने संसद् र सरकारले पाउने भन्ने छ ।
करिव १७ महिना मुलुकको न्यायपालिकाको नेतृत्व गरेकी पूर्वप्रधानन्यायाधीश कार्की जेठ, २०७४ मा प्रधानन्यायाधीशबाट अवकाश भएकी थिइन् । विराटनगरबाट कानुन व्यवसायी सुरु गरी सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त कार्की नेपालको पहिलो महिला प्रधानन्यायाधीश समेत हुन् ।