काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकमा सुशासन कायम गर्न सरकारले दह्रोसँग खुट्टा टेक्ने दाबी गरेका छन् । सुशासनका लागि अनुसन्धान गर्ने सबै निकाय सक्रिय भइसकेको उनको भनाइ छ ।
बिहीबार मन्त्रिपरिषद् बैठकपछि बाहिरिनेक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री अर्यालले विगतको सरकारले सुशासन कायम गर्न नसकेकाले बर्हिगमित हुनुपरेको बताए ।
‘प्रधानमन्त्रीज्यूले भनिसक्नुभो, सुशासनको मामिलामा, भ्रष्टाचारको विरुद्धमा यो सरकारले खुट्टा टेक्छ, राम्रैसँग खुट्टा टेक्छ, यदि सुशासनमा खुट्टा टेकेन भने पाँच वर्षको म्यान्डेट पाएको सरकार पनि बीचैमा उसको म्यान्डेट भंग भयो नि,’ उनले भने ।
सुशासनमा खुट्टा नटेक्दा र भ्रष्टाचारविरुद्ध नलड्दा केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको भन्दै वर्तमान सरकार पनि सुशासन र चुनाव गर्ने भनी पाएको म्यान्डेट पूरा नगरे जेनजीले प्रश्न उठाउने उनले बताए ।