काठमाडौं । जल तथा मौसम विज्ञान विभागले शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय हुने भएकाले भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेको छ ।
शुक्रबार साँझ विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार र आइतबार मनसुनी वायु थप बढी सक्रिय हुँदा मुलुकका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको हो ।
महाशाखाका अनुसार, आगामी २४ घण्टामा कोसी प्रदेश, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ । मौसमविद्ले अरब सागर र बंगालको खाडीमा उत्पन्न भएको मनसुनी वायु शनिबार बिहानदेखि थप सक्रिय रहने पूर्वानुमान गरेका छन् ।
मौसमविद् प्रतिमा मानन्धरले कोसी प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जानकारी दिइन् । शनिबार र आइतबार मुलुकका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको तथा सोमबारदेखि भने मौसम क्रमिकरूपमा सुधार हुने जानकारी उनको भनाइ छ । “हाल देशभर बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा (मनसुनी वायुको) प्रभाव रहेको छ,” उनले भनिन् ।
यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान
महाशाखाका अनुसार आज राति देशभर साधारणतया बदली रहनेछ । कोसी प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग र मधेस प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी प्रदेश, मधेस प्रदेश, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
महाशाखाका अनुसार, शनिबार दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोसी प्रदेश, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग धेरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
कोसी प्रदेश, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ ।
राति भने कोसी प्रदेश, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा अधिकांश बदली रही बाँकी प्रदेशमा साधारणतया बदली रहने छ । कोसी प्रदेश, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका अधिकांश स्थानमा, लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
कोसी प्रदेश, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा तथा मधेस प्रदेश लगायत लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।
आइतबार दिउँसो भने देशभर साधारणतया बदली रहनेछ । कोसी प्रदेश, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभाग धेरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
कोसी प्रदेश, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । कोसी प्रदेश, मधेस प्रदेश रवाग्मती प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ ।
आइतबार राति कोसी प्रदेश, मधेस प्रदेश, वाग्मती प्रदेश लगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।
कोसी प्रदेश, मधेस प्रदेश, वाग्मती प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा र बाँकी प्रदेशका पहाडी र तराईका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोसी प्रदेश रवाग्मती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
राससको सहयोगमा ।