काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विदेशस्थित ४४ नेपाली नियोगका प्रमुखहरूसँग छलफल गरेकी छन् । बुधबार उनले भर्चुअल छलफल गर्दै नियोग प्रमुखहरूलाई मुख्य गरी ६ वटा विषयमा निर्देशन दिएकी छन् ।
“प्रधानमन्त्रीज्यूले आज भर्चुअल रूपमा ४४ वटा नेपाली नियोग प्रमुखहरूसँग छलफल गर्नुभएको छ,” परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भने, “जेनजी प्रदर्शनपछि परिवर्तित अवस्थालाई लिएर उहाँले नियोग प्रमुखहरूलाई केही निर्देशन दिनुभएको छ ।”
प्रधानमन्त्री कार्कीले पहिलो निर्देशन जेनजी प्रदर्शनले ल्याएको परिवर्तनसँग सम्बन्धित रहेको छ । उनले जेनजीका चाहना र मागलाई सम्बिन्धत देशलाई जानकारी गराउन निर्देशन दिएकी थिइन् ।
प्रधानमन्त्री कार्कीले दिएको दोस्रो निर्देशन आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनसँग सम्बन्धित छ । उनले नियोग प्रमुखहरूलाई निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने सहयोग र सद्भाव जुटाउन निर्देशन दिएको प्रवक्ता क्षेत्रीले जनाए । निर्वाचानमा सहभागी हुन आउने अन्तर्राष्ट्रिय पर्यवेक्षकलाई पनि यसमा समेटिएको थियो ।
तेस्रो निर्देशन विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउनेसँग सम्बन्धित रहेको छ । विदेशमा रहेका नेपालीलाई आगामी निर्वाचनमा कसरी सहभागी गराउन सकिन्छ भन्ने बारेमा अध्ययन गर्न र मन्त्रालयमा रिपोर्ट गर्न उनले नियोग प्रमुखलाई निर्देशन दिएकी थिइन् ।
पुनर्निर्माण कोषलाई लिएर उनले चौथो निर्देशन दिएकी थिइन् । जेनजी प्रदर्शनका क्रममा तोडफोड र आगजनी भएका संरचनाको पुनर्निर्माण गर्न सरकारले कोष स्थापना गरेको छ । उक्त कोषमा रकम जम्मा गर्न सम्बन्धित देशमा रहेका नेपाली र विदेशीलाई आह्वान गर्न उनले निर्देशन दिएकी थिइन् ।
प्रधानमन्त्री कार्कीको पाँचौँ निर्देशन पर्यटन क्षेत्रसँग सम्बन्धित छ । गत वर्षको अक्टोबरमा नेपालका होटेल बुकिङ ७० प्रतिशत रहेको थियो । जेनजी प्रदर्शनको असरका कारण यस वर्षको अक्टोबरमा होटेल बुकिङ ३० प्रतिशतमा झरेको छ ।
यसैकारण प्रधानमन्त्री कार्कीले नेपाली नियोग प्रमुखहरूलाई सम्बन्धित देशमा नेपाली खुलिसकेको सन्देश दिई नेपाल घुम्न जान आग्रह गर्न निर्देशन दिएकी थिइन् ।
छैटौँ निर्देशन नियोगहरूको सेवा प्रवाहसँग सम्बन्धित रहेको छ । प्रधानमन्त्री कार्कीले सेवा प्रवाहलाई पारदर्शी, प्रभावकारी र छरितो बनाउन निर्देशन दिएकी थिइन् ।