बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • निराशा र अफवाह फैलाउने सामाजिक सञ्जाल प्रयोगकर्तालाई दण्डित गर्दै चीन सरकार


    हुलाक प्रेस

    • शुक्रबार, असोज २४ २०८२०८:५६
    निराशा र अफवाह फैलाउने सामाजिक सञ्जाल प्रयोगकर्तालाई दण्डित गर्दै चीन सरकार

    काठमाडौं । चीनको सेन्सरले अनलाइनमा केवल राजनीतिक असन्तुष्टि मात्रै नभई सार्वजनिक मनोदशालाई नै निसाना बनाउँदै विचारहरूलाई दबाउन खोजेको द न्युयोर्क टाइम्सले जनाएको छ । यसमा ब्लगर र इन्फ्लुएन्सरहरू दण्डित भइरहेका छन् । उनीहरूका निराश पोस्टहरूले आशा कमजोर भइरहेको व्यापक समर्थन पाइरहेका थिए ।

    हालैका हप्ताहरूमा कम काम र कम दबाबयुक्त जीवनको वकालत गर्ने दुई ब्लगर निसानामा परेका छन् । यसमा विवाह नगर्नु र बच्चा नजन्माउनु आर्थिक रूपमा बुद्धिमानी हुने बताएकी एक इन्फ्लुएन्सर पनि परेकी छन् । साथै, मानव जीवनको गुणस्तरको हिसाबले चीन पश्चिमी देशहरूभन्दा धेरै पछाडि रहेको भन्दै टिप्पणी गर्ने एक टिप्पणीकार पनि परेका छन् ।

    यीमध्ये दुई व्यक्तिका करोडौँ फलोअर्स थिए । उनीहरूको खातालाई चिनियाँ इन्टरनेट नियामकले सामाजिक सञ्जालमा नयाँ ‘सफाइ अभियान’ सञ्चालन गरेपछि निलम्बन/प्रतिबन्ध गरिएको छ ।

    साइबरस्पेस एडमिनिस्ट्रेसन अफ चाइनाले सेप्टेम्बरको अन्त्यमा यो दुई महिना लामो अभियान सुरु गरेको थियो । यसले अत्यधिक निराशावादी भावना र आतंक भड्काउने वा कडा मेहनत गर्नु बेकार छ भन्ने जस्ता निराशाजनक विचारहरूलाई बढावा दिने सामग्रीलाई हटाउने लक्ष्य राखेको एजेन्सीको सूचनामा उल्लेख छ ।

    चीनको एक सरकारी प्रसारक सीसीटीभीले यो अभियानबारे एक सम्पादकीयमा भनेको छ, “वास्तविक रूपमा, हामी सबैले काम तथा जीवनको परिणामस्वरूप थकान र चिन्ता अनुभव गर्छौं । तर, यी वास्तविक भावनाहरू सम्मानयोग्य छन् र ‘भ्यु’ प्रतिक्रियाका लागि जानाजानी बढाइचढाइ गरिनु हुँदैन । इन्टरनेट नकारात्मकता फाल्ने ठाउँ होइन ।”

    चीनको यो कारबाहीमा स्पष्ट रूपमा राजनीतिक अन्तर्निहित उद्देश्य छ । यसले देश आर्थिक अनिश्चितता, अमेरिकासँगको अस्थिर प्रतिस्पर्धा, र युवाहरूमा बढ्दो मोहभंगसँग जुधिरहेको बेला नेतृत्वमा फैलिरहेको अस्वस्थताप्रतिको चिन्तालाई प्रदर्शन गर्दछ ।

    हालैका वर्षहरूमा, युवाहरूले दौडधुप र मिहेनतको जीवन त्यागेर ‘तेर्सो पल्टिने’ जीवनशैली अपनाएका छन् वा लक्ष्यहरूलाई पूरै छाडेर ‘कुहिन दिनु’ भन्ने मानसिकता अँगालेका छन् ।

    न्यूनतम ‘तेर्सो पल्टिने’ जीवनशैलीलाई बढावा दिनका लागि परिचित दुई ब्लगरका खाताहरूलाई गत महिनाको अन्त्यमा फलोअर्स थप्नबाट रोक्न लगाइएको थियो ।

    बेइजिङलाई के चिन्ता छ भने यस्तो निराशावादले नागरिकहरूलाई समाजका उत्पादक सदस्य बन्नबाट निरुत्साहित मात्र गर्दैन, यो सत्तारूढ कम्युनिस्ट पार्टीको आलोचनामा पनि परिणत हुन सक्छ ।

    चाइना मिडिया प्रोजेक्टका निर्देशक डेभिड बान्डस्र्कीले भने, “मूल कारण धेरै चिनियाँहरूका लागि बिग्रँदै गएको आर्थिक र सामाजिक सम्भावनाहरू हुन्, जसले कुनै पनि देशका लागि स्वाभाविक सामाजिक प्रतिक्रिया चिन्ता र सन्देहको अभिव्यक्तिलाई निम्त्याएको छ ।”

    नियामकको आदेश कार्यान्वयन गर्न स्थानीय सरकार र सामाजिक सञ्जाल प्लेटफर्महरू तुरुन्तै सक्रिय भएका छन् । 

    मध्य चीनको झेङ्झाउ सहरका अधिकारीहरूले सहरलाई नराम्रो रूपमा चित्रण गरेको भन्दै दुई सामाजिक सञ्जाल खाता मालिकमाथि अनुसन्धान गरिएको बताए ।

    शियानमा स्थानीय इन्टरनेट नियामकले आवास मूल्य र घरजग्गा नियमनबारे झुटा जानकारी फैलाएको भन्दै पाँच सामाजिक सञ्जाल प्रयोगकर्तालाई दण्डित गरेको बताए ।

    प्रसिद्ध माइक्रोब्लग वेइबोले अर्थतन्त्र र सरकारी कल्याणकारी कार्यक्रमहरूको बारेमा अफवाह फैलाएको भन्दै गत हप्ता १२ सयभन्दा बढी खाताहरू निलम्बन गरेको बताएको छ ।

    नियामकले प्लेटफर्महरूलाई एकल समाचार घटनाहरूको प्रयोग गरेर व्यापक सामाजिक समस्याहरू औँल्याउने पोस्टहरू हटाउन आदेश दिएको छ । 

    ती टिप्पणीको शैलीलाई अधिकारीले दुर्भावनापूर्ण गलत व्याख्या भन्दै समाजप्रतिको सन्देहलाई बढावा दिने कामको रूपमा निन्दा गरेको छ ।

    विद्यालयहरूमा खाद्य सुरक्षा घोटाला जस्ता हालैका घटनाहरूले नागरिकहरूलाई सरकारी अधिकारीहरूको पारदर्शिता र जवाफदेहितामाथि प्रश्न उठाउन प्रेरित गरेको थियो ।

    गत वर्ष, समाजसँग बदला लिने उद्देश्यले पीडित नागरिकहरूले गरेका अन्धाधुन्ध आक्रमणका घटनाहरूको एक शृंखलाले चीनमा गहिरो जरा गाडेको असमानता र मानसिक स्वास्थ्यबारे छलफललाई बढावा दिएको थियो ।

    चिनियाँ राज्य नियन्त्रित सञ्चारमाध्यमले पनि अनलाइन ‘सफाइ’लाई क्लिकका लागि निराशा बेचिरहेकाहरूलाई लक्षित गर्ने प्रयासको रूपमा देखाउन खोजेका छन् ।

    सीसीटीभीले चीनमा मानव जीवनको निराशावादी तस्बिर दिने पोस्टहरूका बारेमा चेतावनी दिएको थियो । “आमाबाबुका कुपुत्र छन् । पुरुषहरू भौतिकवादी महिलाहरूले घेरिएका छन् । महिलाहरू धोका दिने खराब पुरुषहरूको जालमा फसेका छन् । कार्यस्थल (वर्कप्लेस) प्रेरणाविहीन युवाहरूले भरिएको छ ।”

    सीसीटीभीले यस्ता कथनहरू पोस्ट गर्दै भावनात्मक ल्याकमेल गर्नेहरूलाई काम भएको चेतावनी दिएको थियो, जसले ध्यान आकर्षित गर्न सबैभन्दा उदास कथाहरू प्रस्तुत गर्छन् ।

    तर, निराशाबाट फाइदा लिने सामग्रीलाई रोक्ने सरकारी प्रयासले निराशाको वास्तविक अभिव्यक्तिहरूलाई चुप लगाइरहेको हुन सक्ने बताइएको छ ।

    मर्केटर इन्स्टिच्युट फर चाइना स्टडिजकी चिनियाँ राजनीति र समाज प्रमुख कट्जा ड्रिनहाउसेनले भनिन्, “सकारात्मकताको आधिकारिक सन्देश र पछिल्ला दशकहरूको तुलनामा स्पष्ट रूपमा फरक आर्थिक वास्तविकताबीच विरोधाभास छ । अनलाइनका नकारात्मक भावनाहरूलाई नियन्त्रणमा राख्न मात्र यो पर्याप्त हुनेछैन ।”

    धेरै मानिसहरू स्थिर ज्यालाबारे गुनासो गर्छन् । चीनले विज्ञान र इन्जिनियरिङ विद्यार्थीहरूका लागि नयाँ प्रकारको रोजगार भिसा ल्याउँदा अन्ततः चिनियाँ नागरिकहरूका लागि रोजगारी घट्ने हो कि भन्ने चिन्ता व्यक्त गर्छन् ।

    गरिबी र असमानतालाई उजागर गर्ने भिडियोका कारण चर्चित बनेका, पहिले गाडी मर्मत गर्ने काम गर्ने हू चेनफेङको सामाजिक सञ्जाल खाता धेरै प्लेटफर्मबाट हटाइएको छ । झेजियाङका प्रचार अधिकारीहरूले उनलाई पश्चिमा देशहरूको पूजा गरेको आरोप लगाएका छन् ।

    अर्का इन्फ्लुएन्सर झाङ जिबियाओ, एक पूर्वट्युटर सही सामाजिक वा राजनीतिक सम्बन्धबिना गरिब परिवारका विद्यार्थीहरूका लागि वित्त वा चिकित्साजस्ता उच्च पेसाहरूमा प्रवेश गर्ने सम्भावना कम हुने तर्कका लागि परिचित थिए ।

    यो कारबाही चीनका ठूला सोसल मिडिया प्लेटफर्महरूको प्रभाव सीमित गर्नको प्रयास पनि हो । सेप्टेम्बरमा नियामक निकायले कन्टेन्ट उल्लंघनका कारण लोकप्रिय प्लेटफर्मका प्रतिनिधिहरूलाई बोलाएको थियो ।

    यस सम्बन्धमा चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र पिपुल्स डेलीले आफ्नो सम्पादकीयमा लेखेको छ, “यो अभियानले प्लेटफर्महरूलाई निराशावादलाई अनियन्त्रित रूपमा फैलिन नदिन स्पष्ट सन्देश दिएको छ । बिगुल बजिसकेको छ । सबै पक्षले तदनुसार कार्य गर्नुपर्छ ।”


    प्रतिक्रिया दिनुहोस