काठमाडौं । आसन्न निर्वाचनलाई लक्षित गर्दै सरकारले सुरक्षा रणनीति निर्माणलाई तीव्रता दिएको छ । सरकारले निर्वाचनलाई मुख्य राष्ट्रिय प्राथमिकतामा राख्दै सम्पूर्ण गतिविधि त्यसैमा केन्द्रित गरेको छ ।
शनिवार राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा प्रधानमन्त्री र मन्त्रिपरिषद्का सदस्यहरूको उपस्थितिमा चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग शीतलनिवासमा उच्चस्तरीय छलफल भएको थियो । छलफलमा निर्वाचनका लागि अनुकूल राजनीतिक वातावरण निर्माण र मुलुकको समग्र सुरक्षा सुदृढीकरणका उपायहरूबारे चर्चा गरिएको थियो ।
यसै क्रममा गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा आइतबार केन्द्रीय सुरक्षा समितिको बैठक बस्ने तयारी भएको छ । उक्त समितिमा गृह तथा रक्षा सचिवका साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा प्रतिनिधि सहभागी हुनेछन् ।
गृह मन्त्रालयका अनुसार बैठकले केन्द्रीय एकीकृत निर्वाचन सुरक्षा समितिले तयार पारिरहेको एकीकृत सुरक्षा योजनाको प्रगति समीक्षा गर्ने र आवश्यक पृष्ठपोषण तथा नीतिगत निर्देशन दिनेछ ।
गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण महाशाखाका प्रमुख सहसचिव आनन्द काफ्लेको नेतृत्वमा उक्त समिति गठन गरिएको हो ।
गृहमन्त्री अर्यालले कार्यभार सम्हालेपछि समितिको गठन गर्नुभएको हो । समितिमा चारवटै सुरक्षा निकायका प्रतिनिधि सदस्यका रूपमा रहेका छन् भने उपसचिव रवीन्द्र अधिकारी सदस्य सचिवका रूपमा छन् ।
समितिले तयार पारेको सुरक्षा योजना प्रत्येक जिल्लामा कार्यान्वयनका लागि पठाइनेछ। जिल्लास्तरमा प्रमुख जिल्ला अधिकारी ९सिडिओ०को नेतृत्वमा गठन हुने जिल्ला एकीकृत निर्वाचन सुरक्षा समितिले योजनाको कार्यान्वयन जिम्मेवारी लिनेछ।