बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सर्वोच्च अदालत न्याय माग्दै उजुरी लिएर प्रहरीमा जाने


    हुलाक प्रेस

    • मंगलबार, कात्तिक ११ २०८२०७:५२
    सर्वोच्च अदालत न्याय माग्दै उजुरी लिएर प्रहरीमा जाने

    काठमाडौँ । २४ भदौमा भएका तोडफोड र आगजनीबारे जाहेरी लिएर सर्वोच्चलगायत २३ अदालतले प्रहरीमा जाहेरी दिने भएका छन् । आइतबार बसेको सर्वोच्चको पूर्ण बैठकले जाहेरी दिने निर्णय गरेको हो ।

    उक्त घटनामा संलग्नहरुमाथि अनुसन्धान गरेर कारबाहीको माग गर्दै सर्वोच्च अदालत आफैले संस्थागत रुपमा प्रहरीसमक्ष जाहेरी दिने भएको हो । सर्वोच्चका एक अधिकारीका अनुसार आइतबार बसेको फुलकोर्ट (सबै न्यायाधीशको) बैठकमा किटानी जाहेरी दिनेबारे छलफल भएको छ ।

    अनुसन्धानका लागि प्रहरीमा जाहेरी दिने सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए । ‘आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाट भयो । सरकारी धनसम्पत्तिको नोक्सानमा फौजदारी अनुसन्धान र रेकर्ड आवश्यक छ,’ उनले भने, ‘देशभरका अदालतमा कसले र किन नोक्सान गर्‍यो ? त्यसको अनुसन्धान हुनुपर्ने भएकाले पूर्ण बैठकबाट जाहेरी दिने निर्णय भएको हो ।’

    अदालतले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा पनि जाहेरीलगायत विवरण बुझाउने उनले बताए । सर्वोच्च अदालत र काठमाडौं जिल्ला अदालतले यही साता प्रहरीमा जाहेरी दिनेछन् । अन्य जिल्ला तथा उच्च अदालतले मंगलबारदेखि जाहेरी दिन थाल्ने कोइरालाले जानकारी दिए ।

    बैठकमा प्रहरीमा जाहेरी दिने विषय प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले नै उठाएका थिए । उनले अदालतमा कसले किन क्षति गर्‍यो भन्ने विषय अनुसन्धान हुनुपर्ने जनाएका थिए । प्रधानन्यायाधीश राउत र वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लले जाहेरी दिनुपर्ने कुरा रेकर्ड पनि भएको भनेपछि सबै न्यायाधीश सहमत भएका थिए । अदालतमा इतिहासमै ठूलो क्षति र लुटपाट भएकाले फौजदारी अनुसन्धान गर्नुपर्ने निष्कर्षमा बैठक पुगेको थियो ।

    २३ अदालतमा क्षति, १४ वटा पूर्ण रूपमा खण्डहर

    २४ भदौको प्रदर्शनमा सर्वोच्च, विशेष, ३ उच्च, ४ उच्चका इजलास र १४ जिल्लासहित २३ अदालतमा क्षति पुगेको थियो । क्षतिलाई पूर्ण, आंशिक र सामान्य गरेर तीन वर्गमा छुट्याइएको छ । सर्वोच्च, काठमाडौं जिल्ला अदालतसहित १० वटामा पूर्ण, ९ वटामा आंशिक र ४ अदालतमा सामान्य क्षति भएको छ ।

    पूर्ण क्षति भएका अदालतमा भवन, सवारीसाधन, कार्यालय सामग्री गरी २ अर्ब १२ करोड ८४ लाख बराबरको नोक्सानी भएको थियो । आंशिक क्षति भएका अदालतमा २४ करोड ६४ लाख र सामान्य क्षति भएका अदालतमा १४ करोड ५८ लाख बराबरको नोक्सानी भएको सर्वोच्चले जनाएको छ ।

    सर्वोच्चको तथ्यांकअनुसार देशभरका १४ अदालत पूर्ण रूपमा खण्डहर भएका छन् । सर्वोच्चसहित काठमाडौं जिल्ला अदालत, जिल्ला तथा उच्च अदालतका भवनहरू कामै नलाग्ने गरी क्षति भएको छ । २४ भवनमा आंशिक क्षति भएको छ । ती भवनहरू ‘रेट्रोफिट’ वा केही मर्मतपछि सञ्चालन गर्न सकिने अवस्थामा छन् । ३८ इजलास पूर्ण रूपमा ध्वस्त र ४७ वटा आंशिक रूपमा क्षति भएका थिए ।

    प्रदर्शनमा ३ न्यायाधीश आवास पूर्ण र २ वटामा सामान्य क्षति भएको थियो । त्यस्तै, कर्मचारीका २ आवास पूर्ण रूपमा नष्ट भएको थियो भने ३ वटामा आंशिक क्षति पुगेको थियो । सुरक्षाकर्मी बस्ने ८ वटा भवन पूर्ण रूपमा नष्ट र ६ वटामा सामान्य क्षति भएको थियो । सेवाग्राही बस्ने ६ वटा प्रतीक्षालय पनि पूर्ण रूपमा नष्ट भएका थिए भने ५ वटामा आंशिक क्षति पुगेको थियो । सर्वोच्चसहित देशभरका अदालतका १ सय २९ चारपाङ्ग्रे, २ सय ९० दुईपाङ्ग्रे र ५१ साइकल पूर्ण रूपमा नष्ट भएका थिए । सर्वोच्च अदालतले सवारीसाधनमा मात्र ४० करोड १९ लाख बराबरको क्षति बेहोरेको थियो ।

    सूचना प्रविधिका धेरै सामग्री जल्नुका साथै चोरी भएको पाइएको छ । सर्वोच्चको तथ्यांकअनुसार ल्यापटप, प्रिन्टर, डिस्प्ले टीभी चोरी भएका छन् । केही जिल्लामा सीसीटीभी र यूपीएस ब्याट्रीसमेत तोडफोड र चोरी भएको थियो । डेस्कटप कम्प्युटर १४ हजार ९२, ल्यापटप ६ सय ३५, प्रिन्टर ८ सय ५४, अभिलेख स्क्यानर २३, सानो स्क्यानर २३, भिडियो कन्फ्रेन्स सेट ८६, यूपीएस ब्याट्री १ हजार १ सय ११, नेटवर्किङ २३, इन्टरनेट ४२, नेटवर्क केवल ३ हजार १ सय १२, राउटर ८९ समेत अदालतले गुमाएको छ । सीसीटीभी ४ सय ४५, प्रोजेक्टर २९, डिस्प्ले टीभी १ सय ९५, सोलार प्यानल र ब्याट्री २ सय २८, फोटोकपी मेसिन ३८, जेनेरेटर ६, एसी ३ सय ३९, कुलर ३२, पंखा ७ सय ५, भ्याकुम क्लिनर ५८, फ्रिज ३४, ई–हाजिर मेसिन ८१ वटा अदालतले गुमाएको छ । देशभरका अदालतले ९ लाख ३३ हजार मुद्दाका मिसिल गुमाएका छन् ।

    २४ भदौको प्रदर्शनमा सबैभन्दा धेरै क्षति सर्वोच्च र काठमाडौं जिल्ला अदालतमा पुगेको छ । सर्वोच्चको मूल भवन नै जलेपछि पालबाट सेवा थालिएको छ । साथै, सुरक्षाकर्मी भवन, सूचना कक्ष, छापाखाना भवन र प्रतीक्षालयलगायत पूर्ण नष्ट भएका थिए । मूल भवनमा रहेका सम्पूर्ण इजलास तथा च्याम्बरसमेत प्रयोग गर्न नसकिने गरी क्षति भयो ।

    चारपाङ्ग्रे सवारीसाधनतर्फ न्यायाधीशको १३, अदालत प्रयोजनको ३० वटा, दुईपाङ्ग्रे सवारीसाधनतर्फ अदालतको ६६ वटा मोटरसाइकल र ३६ वटा स्कुटर तथा ४ निजी मोटरसाइकलसमेत पूर्ण रूपमा क्षति भएको थियो । साथै चालु मिसिल करिब २ लाख र अभिलेख मिसिल करिब १ लाख ९७ हजार जलेर पूर्ण रूपमा नष्ट भएको थियो । 

    महान्यायाधिवक्ता कार्यालयले दियो जाहेरी

    महान्यायाधिवक्ता कार्यालयले पनि २४ भदौको घटनामा जाहेरी दिएको छ । नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीले क्षति विवरण र कार्यालयसँग भएका प्रमाणसहित जाहेरी दिएको बताए । उनले मातहतका सबै सरकारी वकिल कार्यालयलाई जाहेरी दिन भनिएको जानकारी दिए । उक्त दिनको घटना किन र के उद्देश्यले गरियो र लुटपाट भएका सामान फिर्ता ल्याउनका लागि पनि जाहेरी आवश्यक देखिएकाले दिइएको रेग्मीले बताए ।

     


    प्रतिक्रिया दिनुहोस