बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • अदालतको नक्कली विज्ञापन देखाएर ठगी, २७ जनाले दिए प्रहरीमा उजुरी


    हुलाक प्रेस

    • बुधबार, कात्तिक १२ २०८२१०:५६
    अदालतको नक्कली विज्ञापन देखाएर ठगी, २७ जनाले दिए प्रहरीमा उजुरी

    काठमाडौ । जिल्ला अदालत मोरङले कर्मचारी मागेको नक्कली विज्ञापन देखाएर ठगी गरेको खुलेको छ ।

    सरकारी जागिर लगाइदिने प्रलोभनमा एउटा गिरोहले अदालतको नक्कली विज्ञापान देखाएर ठगी गरेको खुलेको हो । २७ जनाले पीडितले ठगिएको भन्दै जिल्ला प्रहरी कार्यालय मोरङमा निवेदन दिएका छन् ।

    पुनमदेवी साहको नाममा ठगी भएको पाइएको मोरङ प्रहरीले जनाएको छ । ठगिएकाहरूको जाहेरी आएपछि अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता डिएसपी कोपिला चुँडालले जानकारी दिइन् ।

    उनका अनुसार यो गिरोहले सप्तरी जिल्लामा पनि ठगी गरेको देखिएको छ ।

    नक्कली विज्ञापन, नक्कली आइडी कार्ड

    मोबाइलमा अदालतमा करार कर्मचारीको विज्ञापन खुलेको भन्दै विज्ञापन देखाउँदै साहको समूहले २ हजार ५ सयदेखि २० हजारसम्म संकलन गरेको देखिएको छ ।

    जागिर लगाइदिने भन्दै केही व्यक्तिसँग २ लाखसम्स असुल गरेको पीडितको दाबी छ ।

    तर सबै  उजुरीका लागि पुगेका छैनन् । ठगी गर्ने गिरोहले पीडितलाई बाहिर बोले ज्यान मार्ने धम्की पनि दिइरहेको पीडितको गुनासो छ । ‘२७ जनाले निवेदन दिएका छन्, बाँकी आउँन सकेका छैनन,’ पीडित मध्येका एकले भने, ‘ठगिएकाहरूको संख्या धेरै छ, तर उनीहरूले धम्की दिइरहेका छन् ।’

    ठगी गर्ने गिरोहले २०८२ साउन १२ गतेको मितिमा नायव सुब्बा १५ जना, कार्यालय सहयोगी २२ जना र सवारी चालक ५ जनाको विज्ञापन खुलेको भन्दै  ठगी गरेको थियो । यो गिरोहले कर्मचारीको नक्कली परिचय पत्र पनि बनाउने गरेको पाइएको छ । प्रहरीका अनुसार विज्ञापन अनुसार आफूले जागिर लगाएको कर्मचारी भन्दै उनीहरूले नक्कली परिचय पत्र  देखाएर आकाक्षीसँग पैसा असुल गरेको देखिन्छ ।

    गिरोहले जागिर लगाएको भन्दै देखाएको परिचयपत्रमा प्रशासन अधिकृत भनेर केदारनाथ पौडेलको नाम र हस्ताक्षर उल्लेख छ । पीडितहरू सुरुमा जिल्ला अदालत पुगेका थिए । अदालत पुगेकाहरूलाई उजुरीका लागि जिल्ला प्रहरी कार्यालय जान सल्लाह दिइएको जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

    उनका अनुसार अदालतको दरबन्दी लोकसेवाबाट पदपूर्ति हुन्छ । ठगी गर्ने गिरोहले विज्ञापन देखाएर ठगी गरेको देखिएको उनले बताए । जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता चुडालले घटनाबारे विस्तृत अनुसन्धान सुरु गरेको जानकारी दिइन् ।


    प्रतिक्रिया दिनुहोस