काठमाडौँ । वर्तमान सरकार गठन र प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा बुधबार रिट निवेदकले बहस गरिरहँदा प्रधान्यायाधीश प्रकाशमान सिंह राउतले सांसदहरू रिट निवेदन लिएर नआएको विषयमा प्रश्न सोधेका छन् ।
'कतिजना सांसद रिट लिएर आउनुभएको छ?' राउतले सोधे । रिट निवेदकले सरकार गठन र प्रतिनिधिसभा विघटन दुवै असंवैधानिक भनेर बहर गरेपछि राउतले यस्तो सोधेका हुन् । संसद् विघटनविरुद्ध अहिलेसम्म एकजना पनि तत्कालीन सांसदले रिट निवेदन दिएका छैनन् ।
अधिवक्ता विश्व ढुंगेलले बहस गरिरहेका बेला न्यायाधीश राउतले यस्तो प्रश्न सोधेका हुन्। बहसका क्रममा ढुंगेलले प्रधानमन्त्री सुशीला कार्की संसद् बाहिरको मान्छे भएको र उनलाई यो संसद् र संविधान मास्ने अधिकार नभएको बताएका थिए । उनले संविधानको मूल मर्ममाथि प्रहार भइरहेको भनेका थिए ।
राउतले भदौ २३ र २४ गतेको अवस्थाबारे उल्लेख गर्दै भने, 'तपाईंले भनेको जस्तो संविधानलाई जीवित बनाउन सक्ने अवस्था त्यतिबेला थियो कि थिएन? शीतल निवासको अवस्था के थियो ? सर्वोच्च अदालतको अवस्था के थियो ?'
उनले अहिलेजस्तो सामान्य अवस्था नभएको उल्लेख गर्दै थप सोधे, 'सर्वोच्च अदालतको अवस्था के थियो? माननीयहरू कता हुनुहुन्थ्यो ? त्यतिबेला प्रधानमन्त्रीको अवस्था कस्तो थियो ? अहिले जस्तो सामान्य अवस्था थियो कि विषम परिस्थिति थियो? संविधानको रक्षा गर्न सक्ने अहिले जस्तो अवस्था थियो ?'