काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजदूतहरुकै कर्मका कारण फिर्ता गर्नुपरेको बताएकी छन् । उनले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्पादकहरुसँगको कुराकानीमा यस्तो बताएकी हुन् ।
“उनीहरुकै कर्मका कारण फिर्ता गरिएको हो,” उनले भनिन्, “किनभने उहाँहरुले सरकार रहँदैन, टिक्दैन । २–४ दिनको सरकार भनेर माहोल बनाउने काम गरेको पाइयो । त्यसैले फिर्ता बोलाइएको हो ।” उनले कतिपयलाई आर्थिक हिनामिनाको पनि आरोप लागेको बताइन् ।
“हामी बाध्य भएर उहाँहरुलाई फर्काएका हौँ,” उनले भनिन्, “कतिका अनियमितताका कुरा आएका कारण पनि फिर्ता बोलाएका हौँ ।”
सबै किन नफर्काएको ? भन्ने पत्रकारको प्रश्नमा उनले भनिन्, “विवाद नआएका, राम्रो काम गरेका राजदूतलाई फिर्ता नबोलाएको हो । सम्बन्धित मुलुकले कन्सर्न देखाएका कारणले पनि केहीलाई फिर्ता गरिएन ।”