काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले तीन शीर्ष नेताहरूलाई भेट्न अनिच्छा देखाएकी छन् ।
गत भदौ २३ र २४ गते जेनजी प्रदर्शनपछि बनेको अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न इच्छा नभएको बताइन् ।
सम्पादकहरूसँग शुक्रबार साँझ भेट्दै उनले युवा विद्रोहले तीन नेताको विकल्प खोजेको बताउँदै आफूले युवाहरूको भावनाको सम्मान गर्ने उल्लेख गरिन् ।
प्रधानमन्त्री कार्कीले भनिन्,'केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्ड धेरै वर्ष शक्तिमा रहनुभयो । जेनजी युवाहरूले दलभित्र उनीहरूको विकल्पमा आउने नेताहरूसँग कुरा हुनुपर्छ भन्ने ठानेका छन् । अस्ति यहाँ वार्तामा बस्दा पनि जेनजीले दलहरूलाई २३ र २४ भदौको संहारमा ती नेताहरूको भूमिकाबारे प्रश्न उठाए । मलाई चाहिँ उहाँहरूसँग (ओली, देउवा, प्रचण्ड) सँग कुरा गर्ने इच्छा छैन । अब गर्नैपर्ने अवस्था आयो भने कुरा गर्न पनि सकिन्छ । तर एउटै लिडरसिप कति हेर्नु ।’
त्यसक्रममा उनले सम्पादकहरूसँगको बैठकले सरकारलाई सुशासन र निर्वाचनको दिशामा अगाडि बढ्न थप ऊर्जा र उत्साह प्रदान गरेको बताइन् ।