बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • मौसमविद् भन्छन्– ‘मोन्था’को प्रभाव सकियो, यी स्थान आज हल्का वर्षाको पूर्वानुमान


    हुलाक प्रेस

    • आइतबार, कात्तिक १६ २०८२०८:३४
    मौसमविद् भन्छन्– ‘मोन्था’को प्रभाव सकियो, यी स्थान आज हल्का वर्षाको पूर्वानुमान

    काठमाडौं । देशका केही स्थानमा आज (कात्तिक १६) वर्षाको पूर्वानुमान छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    देशमा हाल मुख्यतः पश्चिमी वायुको प्रभाव रहेको महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिए । त्यसकै प्रभावले उक्त क्षेत्रमा हल्का वर्षा हुने उनले बताए ।

    उक्त क्षेत्रका उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको उनले जानकारी दिए ।

    बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’को प्रभाव सकिइसकेको उनले बताए । “मोन्थाको प्रभाव हिजै सकियो,” उनले भने, “अहिले पश्चिमी वायुकै प्रभाव हो ।”

    अरबसागरमा बनेको न्यूनचापीय प्रणालीका कारण पनि नेपालमा वर्षा र हिमपात भएको थियो । त्यो प्रणाली समेत निकै कमजोर भइसकेको उनले जानकारी दिए । “त्यसको ठूलो प्रभाव छैन,” मौसमविद् झाले भने, “त्यो प्रणाली आफैँमा कमजोर भइसकेको छ । कतैकतै आर्द्रता भने आएको हुनसक्छ ।”

    थोरै स्थानलाई कसरी बुझ्ने ?
    १० देखि ३० प्रतिशतसम्मको क्षेत्रफललाई ‘थोरै स्थान’ भनिन्छ । १० प्रतिशतभन्दा कम क्षेत्रफललाई ‘एक–दुई स्थान’ भनिने महाशाखाले जनाएको छ ।

    ३० देखि ५० प्रतिशत क्षेत्रफललाई ‘केही स्थान’ भनिन्छ । ५० देखि ८० प्रतिशत क्षेत्रफललाई ‘धेरै स्थान’ भनिन्छ । ८० प्रतिशतभन्दा बढी क्षेत्रफललाई ‘अधिकांश स्थान’ भनिने महाशाखाले जनाएको छ ।

    हल्का वर्षा भनेको कति ?
    कुनै स्थानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई ‘भारी’ वर्षा भनिन्छ । १० देखि ५० मिलिमिटरसम्म पानी परे ‘मध्यम’ वर्षा भनिन्छ । १० मिलिमिटरसम्म पानी परे ‘हल्का’ वर्षा भनिने महाशाखाले जनाएको छ ।

    कुनै स्थानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई ‘धेरै भारी’ वर्षा भनिन्छ । २४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै पानी परे ‘अति भारी’ वर्षा भनिने महाशाखाले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस