बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • बैंकिङ कसुरमा जेलमा रहेका पूर्वबैंकर कमल ज्ञवालीलाई छोड्न सर्वोच्चको आदेश


    हुलाक प्रेस

    • सोमबार, कात्तिक १७ २०८२१०:१७
    बैंकिङ कसुरमा जेलमा रहेका पूर्वबैंकर कमल ज्ञवालीलाई छोड्न सर्वोच्चको आदेश

    काठमाडौं । बैंकिङ कसुरमा जेल परेका साबिकको किस्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवाली थुनामुक्त गर्ने सर्वोच्च अदालतले आदेश दिएको छ । ज्ञवालीकी श्रमती गौरी खनाल ज्ञवालीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै सोमबार सर्वोच्च अदालतले आदेश जारी गरेको हो ।

    न्यायाधीशद्वय हरिप्रसाद फुयाल र अब्दुल अजीन मुसलमानको संयुक्त इजलालले बन्दी प्रत्यक्षीकरणको उक्त रिटमा आदेश जारी गरेको हो ।

    गौरी खनाल ज्ञवालीले १० कात्तिकमा कारागार कार्यालय, डिल्लीबजार समेतलाई विपक्षी बनाउँदै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । सोही रिटमा सुनुवाई गर्दै ११ कात्तिकमा सर्वोच्चका न्यायाधीश मेघराज पोखरेलले कारण देखाउ आदेश जारी गरेका थिए । सोही मुद्दामा सोमबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र अब्दुल अजीज मुसलमानको संयुक्त इजलालले बन्दी प्रत्यक्षीकरणको उक्त रिटमा आदेश जारी गरेसँगै पूर्व बैंकर ज्ञवाली जेलमुक्त हुने भएका हुन् ।

    ज्ञवालीलाई तत्कालीन पुनरावेदन अदालत पाटनको वाणिज्य इजलासले बैंकिङ कसुर मुद्दामा दोषी ठहर गर्दै जेल सजाय सुनाएको थियो । पूर्व बैंकर ज्ञवाली र उनकी श्रीमती गौरी खनाल ज्ञवालीलाई पनि बैंकिङ कसुरमा जेल सजाय सुनाएको थियो । कमल ज्ञवालीलाई अदालतले चार वर्षको जेल सजाय र ६ करोड २५ लाख रुपैयाँ जरिवानाको सजाय दिएको थियो ।

    तत्कालीन सिद्धार्थ डेभलपमेन्ट बैंकको कर्जा दुरुपयोग गरी बैंकिङ कसुर गरेको अभियोगमा उनलाई अदालतले दोषी ठहर गरेको थियो । अदालतले ज्ञवालीकी पत्नी गौरी खनाललाई ३ वर्ष कैद र ६ करोड २५ लाख रुपैयाँ जरिवाना गरेको थियो ।

    गौरी खनलालाई सुरुमा पक्राउ गरी अनुसन्धान सुरु भएको थियो भने बैंकर ज्ञवाली फरार भए । सोही समयमा पक्राउ परेकी गौरी खनाल ज्ञवालीले सजाय पुरा गरिन् भने कमल ज्ञवाली भने २०७५ असोजमा मात्रै पक्राउ परेका थिए । अदालतले सुनाएको सजाय उनले अवज्ञा गरेकाले उनीमाथि थप सजाय भएको थियो ।


    प्रतिक्रिया दिनुहोस