काठमाडौं । नयाँ वर्षको दिन पारेर भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले ‘एक्स-रे पोलारिमिटर’ भूउपग्रह प्रक्षेपण गरेको छ । यो स्याटेलाइटले ब्ल्याक होल जस्ता आकाशीय पिण्डहरुको रहस्यको अध्ययन गर्नेछ ।
पीटीआईको रिपोर्ट अनुसार एक्सपोस्याट (XPoSat) को उद्देश्य विभिन्न खगोलीय स्रोतहरू जस्तै ब्ल्याक होल, न्यूट्रोन तारा, सक्रिय ग्यालेक्टिक न्यूक्ली, पल्सर विन्ड नेबुला आदिबाट उत्सर्जित विकिरणको अध्ययन गर्नेछ ।
पीटीआई रिपोर्टका अनुसार उपग्रहलाई आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट इसरोको सबैभन्दा भरपर्दो स्याटेलाइट प्रक्षेपण वाहन पीएसएलभी मार्फत प्रक्षेपण गरिएको थियो । बिहान ९.१० बजे उडान भरेपछि ‘एक्स–रे पोलारिमिटर’ भूउपग्रहलाई पृथ्वीभन्दा ६५० किलोमिटर माथिको तल्लो पृथ्वीको कक्षमा राखिएको थियो ।
यो स्याटेलाइटले वैज्ञानिकहरूलाई एक्स-रे स्रोतहरूको रहस्य पत्ता लगाउन र ‘ब्ल्याक होल’ को रहस्यमय संसारको अध्ययन गर्न मद्दत गर्नेछ । इसरोका अनुसार यो पहिलो भूउपग्रह हो जसले एक्स-रे उत्सर्जन पत्ता लगाउनेछ र लगभग ५ वर्षको लागि इसरोलाई महत्त्वपूर्ण जानकारी प्रदान गर्नेछ ।