बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • यस वर्ष मनसुनमा भयो सरदर वर्षा : १४ सय ५४ घटना रेकर्ड, १४० जनाको मृत्यु


    हुलाक प्रेस

    • मंगलबार, कात्तिक २५ २०८२१०:११
    यस वर्ष मनसुनमा भयो सरदर वर्षा : १४ सय ५४ घटना रेकर्ड, १४० जनाको मृत्यु

    काठमाडौं । यस वर्षको मनसुनमा सरदर वर्षा भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार सार्वजनिक गरेको ‘मनसुन, २०८२ को अवस्था’ प्रतिवेदनमा यस वर्षको मनसुन सरदरभन्दा बढी अवधिसम्म रहेको उल्लेख छ ।

    सरदरभन्दा केही दिनअघि अर्थात् ०८२ जेठ १५ गते नेपाल प्रवेश गरेको मनसुन १३५ दिन रहेर ०८२ असोज २४ गते नेपालबाट पूर्णरूपमा बाहिरिएको प्रतिवेदनमा उल्लेख छ ।

    प्रतिवेदनमा यस वर्षको मनसुन अवधिमा १,३७५.४ मिलिमिटर वर्षा भएको उल्लेख छ । जुन सरदर १,४१४.५ मिलिमिटर वर्षाको तुलनामा ९७.२३ प्रतिशत हो ।

    “यद्यपि, विपद्का घटनाका साथै मानवीय तथा भौतिक क्षति विगत वर्षको तुलनामा कम भयो । गत वर्षको मनुसनको अवधिमा दुईहजार ९३९ मनसुनजन्य घटनाहरू रेकर्ड हुँदा ४९५ जनाको मृत्यु भएकोमा यस वर्ष एक हजार ४५४ घटनाहरू रेकर्ड हुँदा १४० जनाको ज्यान गयो,” प्रतिवेदनमा भनिएको छ ।

    मनसुनको अन्त्यतिर ०८२ असोज १७ देखि २० गतेसम्म भारीदेखि अति भारीसम्म वर्षा हुँदा जनधनको क्षति केही बढी हुन गएको जनाइएको छ ।

    उक्त चार दिनमा मनसुनजन्य विपद्का घटनाबाट ५३ जनाको मृत्यु भयो भने पाँचजना अझै बेपत्ता रहेको प्रतिवेदनमा उल्लेख छ । “यो मनुसनमा मानवीय क्षतिका हिसाबले इलाम सबैभन्दा बढी प्रभावित जिल्ला रह्यो । जहाँ असोज १७–२० गतेभित्र मात्रै ३९ जनाको मृत्यु भयो,” प्रतिवेदनमा भनिएको छ । यसै कारण इलामलाई तीन महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरिएको छ ।

    यस मनसुनको अर्को ठूलो विपद्जन्य घटना रसुवाको भोटेकोसी नदीमा आएको बाढीलाई लिइएको छ । ०८२ असार २४ गते बिहान रसुवाको भोटेकोशी नदीमा अकस्मात् आएको बाढीका कारण १८ जना बेपत्ता भएकोमा ११ जनाको शव तथा मानव अंग फेला परेको प्रतिवेदनमा उल्लेख छ ।

    “बाढीले टिमेरेस्थित मितेरी पुल बगायो भने यो सहित दुईवटा पुल पूर्णरूपमा र एउटा आंशिकरूपमा क्षतिग्रस्त भयो । त्यसैगरी, स्याफ्रुबेँसी–रसुवागढी सडकको ठूलो हिस्सा बग्यो । एउटा सुक्खा बन्दरगाह र तीनवटा जलविद्युत आयोजनामा अर्बौंको क्षति हुनुका साथै कार्गोसहितका ७६ वटा गाडी बगायो,” प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    उक्त बाढी नेपाल–चीन सीमाबाट करिब ३५ किलोमिटरमाथि तिब्बती क्षेत्रमा अवस्थित प्युनिरी हिमनदीमा अवस्थित सुप्राग्लेसियर तालको पानी अचानक निकासका कारण हिमबाढी आएको अध्ययनहरूले देखाएका छन् ।

    प्रतिवेदनमा यस वर्षको मनसुनमा बाढीपहिरोका साथै सुक्खाको पनि समस्या देखिएको जनाइएको छ । मनसुनको सुरुवातमा मधेस प्रदेश सुक्खाको समस्याबाट प्रभावित हुँदा मधेस प्रदेशभर तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको थियो ।

    ०८१ को मनसुन अवधिमा भएका ठूला घटना र क्षतिबाट पाठ सिकी यस वर्ष सुरुआतबाटै पूर्वतयारीलाई गम्भीरतापूर्वक अघि बढाइएको दाबी प्रतिवेदनमा गरिएको छ ।


    प्रतिक्रिया दिनुहोस