बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • चुच्चे नक्सा छापिएको रु १ सयको नेपाली नोटका विषयमा के लेखे भारतीय सञ्चारमाध्यमले ?


    हुलाक प्रेस

    • शनिबार, मंसिर १३ २०८२०९:००
    चुच्चे नक्सा छापिएको रु १ सयको नेपाली नोटका विषयमा के लेखे भारतीय सञ्चारमाध्यमले ?

    एजेन्सी । नेपालले सुदूरपश्चिममा रहेको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेको नक्सा सहित राखेर १०० रुपैयाँको नेपाली नोट बजारमा ल्याएपछि भारतका सञ्चारमाध्यमहरूले समाचार प्रकाशन गरेका छन् ।

    एनडीटीभीको अन्लाइन संस्करणमा भारतको विदेश मन्त्रालयले नेपाली नक्साको निन्दा गरेको र यो एकतर्फी कामले धरातलीय यथार्थलाई परिवर्तन गर्न नसक्ने बताएको समाचार प्रकाशित छ । यस कदमले दुई देशबीचको सम्बन्धमा तिक्तता ल्याउन सक्ने समाचारमा लेखिएको छ ।

    त्यस्तै एबीपी न्युजको अन्लाइन संस्करणमा पनि वर्षौंदेखि उत्तराखण्डको हिस्साका रूपमा रहेका लिपुलेक, कालापानी र लिम्पियाधुरालाई नेपालले आफ्नो भूभागका रूपमा रुपैयाँमा देखाएको भनी लेखेको छ । काठमाडौंको यो कदमले भारत र नेपालको सम्बन्धमा नयाँ तनाव उत्पन्न गर्ने उसले उल्लेख गरेको छ ।

    उता दैनिक भास्करले नेपालको नोटमा रहेको नक्सालाई भारतले कडा आलोचना गरेको र ऐतिहासिक तथ्यलाई बेवास्ता गर्ने एकतर्फी कारवाहीको संज्ञा दिएको लेखेको छ । भारतको सम्प्रभुता र क्षेत्रीय अखण्डतालाई नेपालले सम्मान गर्नुपर्ने र यस्ता किसिमका दाबीहरूले द्विपक्षीय सम्झौताको उल्लंघन गर्ने भारतको विदेश मन्त्रालयले जनाएको भास्करले लेखेको छ ।

    त्यस्तै नवभारत टाइम्सले भारतका तीनवटा इलाकालाई नेपालले आफ्नो भन्दै विवादित नक्सालाई १०० रुपैयाँको नोटमा राख्दा दुई देशबीच तनाव बढ्ने भनी लेखेको छ ।

    प्रभात खबरले नेपालको नयाँ नोटमा चुच्चे नक्सा राखिनुलाई कतै चीनको चाल त हैन भनी समाचार प्रकाशन गरेको छ । नेपालले लागत बचतको नाममा आफ्नो नोट चीनलाई छाप्न दिने निर्णय गरेसँगै नक्सा सहितको नोट छापेको भन्दै प्रभात खबरले यस प्रकरणमा चीनको हात रहेको संकेत गरेको हो ।


    प्रतिक्रिया दिनुहोस