बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • जलेका मिसिलको फैसलाको पूर्णपाठ आउँदा नोटमा सक्कल अभिलेख नभेटिएको जानकारी लेखिने


    हुलाक प्रेस

    • शनिबार, मंसिर १३ २०८२०९:२०
    जलेका मिसिलको फैसलाको पूर्णपाठ आउँदा नोटमा सक्कल अभिलेख नभेटिएको जानकारी लेखिने

    काठमाडौँ । जेनजी आन्दोलनका क्रममा अदालतका मिसिलमा पुगेको क्षति फैसलामा अभिलेख राख्ने क्रम सुरु भएको छ । भदौ २४ गते भएको आगजनी र तोडफोडका क्रममा नष्ट भएका मिसिलको सक्कल अभिलेख नभेटिएको जानकारीसहित मुद्दाको पूर्णपाठमा लेख्ने व्यवस्था गरिएको हो ।

    नष्ट भएका मिसिलको फैसलाको पूर्णपाठ तयार गर्दा सो बेहोरा जनाउने गरी विशेष परिस्थितिका कारण नष्ट भएका मिसिल कागजातको प्राप्ति र प्रमाणीकरणसम्बन्धी निर्देशिकाले व्यवस्था गरेको थियो । अदालतले अहिले तयार पारेको फैसलामा त्यस्तो बेहोरा राखिएको छ । 

    सर्वोच्च अदालतमा मात्र मुद्दाको फैसला भएका तर पूर्णपाठ लेख्न बाँकी रहेका तीन हजार ६८७ थान मिसिल नष्ट भएका थिए । मुद्दामा भएको टिपोट, इजलास अधिकृतले तयार पारेको मसौदा र मुद्दा व्यवस्थापन प्रणालीमार्फत निकालिएको विवरणका आधारमा पूर्णपाठ तयार पार्न थालिएको हो । ती विवरण जनाएर अदालतले अहिले पूर्णपाठ तयार पार्न थालेका हुन् । 

    सर्वोच्च अदालतले हालै टे«डमार्क विवादसम्बन्धी इटालीको एक कम्पनीले नेपाली कम्पनीलाई विपक्षी बनाई दायर गरेको मुद्दाको फैसलामा त्यस्तो विवरण समावेश गरेको छ । फैसलाको द्रष्टव्य खण्डमा मिसिल जलेको र प्राप्त टिपोट तथा तथ्यका आधारमा फैसला लेखिएको जनाइएको छ । 

    फैसलाको पूर्णपाठको द्रष्टव्य खण्डमा लेखिएको छ, “प्रस्तुत फैसलाको पूर्णपाठ तयार नहुँदै मिति २०८२/०५/२४ गते यस अदालतमा भएको आगजनी, तोडफोड र लुटपाटका कारण यस मुद्दाको सक्कल मिसिल नभेटिएको हुँदा इजलासबाट मिसिल अध्ययन भई एवं इजलास अधिकृतबाट सोअघि मिसिल हेरी तयार गरी न्यायाधीशसमक्ष पठाएको टिपोट तथा मुद्दा व्यवस्थापन प्रणालीमार्फत निकालिएको मुद्दाको स्थितिसमेतका आधारमा यो फैसला तयार गरिएको ।”

    सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले मिसिल जलेकाको हकमा पूर्णपाठ तयार पार्दा जलेको बेहोरा जानकारी हुने बताए । कोइरालाका अनुसार मिसिल नजलेको मुद्दाका हकमा त्यस्तो बेहोरा लेखिने छैन । “मिसिल जलेका मुद्दाको हकमा मात्र जलेको द्रष्टव्य लेखिने छ । अन्य भने त्यस्तो बेहोरा राखिने छैन,” कोइरालाले भने । 

    मिसिल जलेका मुद्दाको फैसलाको पूर्णपाठ सङ्क्षिप्त तयार पार्न सकिने व्यवस्था पनि निर्देशिकाले गरेको छ । सर्वोच्चमा संवैधानिक इजलास, मुद्दा फाँट, अभियान फाँट, रिट शाखालगायतमा चालु मिसिल पनि नष्ट भएका थिए । 

    पन्ध्र सय चालिस मिसिल प्राप्ति

    जलेको मिसिल खडा गर्ने कामलाई सर्वोच्चले प्राथमिकतासाथ अघि बढाएको छ । मङ्सिर १ गतेदेखि उक्त अभियान सर्वोच्चले सुरु गरेको छ । पेसीमा चढेका मुद्दामा पनि मिसिल जलेको हकमा मिसिल प्राप्तिको आदेश भइरहेका छन् । प्रवक्ता कोइरालाका अनुसार मङ्सिर १० गतेसम्म एक हजार ५४० थान मुद्दामा मिसिल प्राप्ति भएको छ । 

    अदालतले मुद्दाका पक्ष, सरकारी वकिल तथा सरोकारवालासँग मिसिल कागजात माग गरेको थियो । मिसिल प्राप्तिपछि परीक्षण र प्रमाणीकरणको विधि पनि अदालतले बनाइसकेको छ । 

    जेनजी आन्दोलनका क्रममा देशभरका २३ अदालतमा भौतिक पूर्वाधार र मिसिलमा ठुलो क्षति पुगेको थियो । आन्दोलनका क्रममा २३ अदालतमा तोडफोड र आगजनी हुँदा चालु, अभिलेख तथा तहसिल शाखाका गरी झन्डै साढे नौ लाख मिसिल पूर्ण रूपमा नष्ट भएका थिए । नौ लाख ३३ हजार ८२३ थान मिसिल नष्ट भएका हुन् । सर्वोच्च अदालतमा मात्र चालु मिसिलमध्ये करिब ८३ प्रतिशत जलेका छन् ।

    सर्वोच्चका अनुसार भदौ २३ गतेसम्म कायम रहेका कुल २४ हजार २३४ मुद्दामध्ये २० हजार ३४ थान मुद्दाका मिसिल जलेका छन् । चालु मुद्दाका चार हजार दुई सय मिसिल भने सुरक्षित छन् । अभिलेखका एक लाख ९७ हजार थान मिसिल जलेका छन् । 

    सर्वोच्चबाहेक मातहतका अदालतमा छ हजार ५३३ थान चालु मिसिल पूर्ण रूपमा नष्ट भएका छन् । यस्तै मातहतका अदालतमा अभिलेखमा रहेका सात लाख छ हजार ७१ थान र तहसिलतर्फका चार हजार १८५ मिसिल पूर्ण रूपमा नष्ट भएका छन् । 


    प्रतिक्रिया दिनुहोस