काठमाडौँ । वाइडबडी जहाज खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा सफाइ पाएकाहरूविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ ।
वाइडबडी खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले पूर्वमन्त्री जीवनबहादुर शाहीसहित २२ जनालाई सफाइ दिएको थियो ।उक्त फैसला चित्त नबुझेपछि अख्तियारले मंगलबार सर्वोच्चमा पुनरावेदन दिएको अख्तियारको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । प्रवक्ता पौडेलका अनुसार अख्तियारले वाइडबडी जहाज खरिद प्रकरणमा एक अर्ब ४७ करोड १० लाख रुपैयाँ भ्रष्टाचार भएको भन्दै पूर्वमन्त्री शाहीसहित २०८० चैत २२ गते ३२ जनाविरूद्ध मुद्दा हालेको थियो ।
२०८१ मंसिर २१ गते निगमका तत्कालिन महाप्रबन्धक सुगतरत्न कंसाकारसहित चार जना कर्मचारी र बिक्रेता कम्पनीका सात जना विदेशीसहित १० जनालाई दोषी ठहर भएका थिए भने अन्य सबैले सफाइ पाएका थिए ।
उक्त मुद्दामा केही प्रतिवादीलाई आंशिक ठहर गरेको थियो । केही प्रतिवादीलाई सफाइ दिएको हुँदा माग गरेअनुसारको सजाय नदिएको भन्दै सर्वोच्चमा पुनरावेदन दिएको प्रवक्ता पौडेलले बताए ।