काठमाडौं । नेपाल बार एशोसिएसनले भदौ २४ को संवैधानिक–राजनीतिक परिस्थितिबारे छलफल गरेको छ । जनकपुरधाममा बुधबार सम्पन्न ५१ औं केन्द्रीय कार्यकारिणी परिषदको बैठकमा देशको पछिल्लो परिस्थितिबारे छलफल भएको हो ।
बरिष्ठ अधिवक्ता, अधिवक्ता एवं बार इकाईका प्रतिनिधिहरु सम्मिलित बैठकले संसद बाहिरबाट नियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग प्रतिनिधिसभा विघटन गर्ने अधिकार नहरेको निष्कर्ष निकालेको बैठकमा सहभागी बार एशोसिएसनका एकजना पदाधिकारीले बताए ।
फागुन २१ मा चुनाव नभएमा संविधानलाई लिकमा ल्याउन प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने बारको निष्कर्ष रहेको ती पदाधिकारीले दाबी गरे । उनले भने, ‘यदि तोकिएको समयमा चुनाव नहुने स्थिति भयो भने त्यसपछिको विकल्प प्रतिनिधिसभा पुनर्स्थापना नै हो ।’
विहीबार सम्पन्न बार बैठकको निर्णयको लिखत डकुमेन्ट भने बाहिर आइसकेको छैन । बैठकमा सहभागी पदाधिकारीका अनुसार त्यहाँ आएका सुझावहरुलाई समेत समेटर प्रतिवेदनलाई अन्तिम रुप दिने गृहकार्य भइरहेको छ । चाँडै जनकपुर बैठकका निष्कर्षहरु सार्वजनिक हुनेछन् ।