बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • जापानिज इन्सेफ्लाइटिस‍्बाट यस वर्ष ३५ जनाको मृत्यु, २८ जिल्ला उच्च जोखिममा


    हुलाक प्रेस

    • सोमबार, पुस ७ २०८२१०:००
    जापानिज इन्सेफ्लाइटिस‍्बाट यस वर्ष ३५ जनाको मृत्यु, २८ जिल्ला उच्च जोखिममा

    काठमाडौँ । जापानिज इन्सेफ्लाइटिस्को संक्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमका अनुसार १७९ जना जनामा जापानिज इन्सेफ्लाइटिस्को संक्रमण भएको थियो ।

    यस वर्ष जापानिज इन्सेफ्लाइटिस्का एक हजार ७३९ शंकास्पद बिरामीको परीक्षण गरिएको उनले बताए । जापानिज इन्सेफ्लाइटिस् संक्रमण एक पटक भएपछि अर्को पटक नभए पनि शंकास्पद बिरामीलाई भने अर्को पटक जापानिज इन्सेफ्लाइटिस् हुन सक्ने उनको भनाइ छ ।

    गत वर्ष सन् २०२४ मा २५ जना जापानिज इन्सेफ्लाइटिस्बाट मृत्यु भएका थिए । उनले बर्सेनि जापानिज इन्सेफ्लाइटिस्बाट मृत्यु हुनेको संख्या बढ्दै गएको बताए । गत वर्ष जापानिज इन्सेफ्लाइटिस् संक्रमण ८६ जना देखिएको थियो ।

    सन् २०१४ मा चार जना, सन् २०१७ मा एक जना र सन् २०२३ मा सात जना जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु भएका थिए । डा गौतमका अनुसार यस वर्ष तीन वर्षदेखि ८९ वर्षसम्मका मानिसलाई जापानिज इन्सेफ्लाइटिस् देखिएको थियो। जापानिज इन्सेफ्लाइटिस्बाट २८ जिल्ला उच्च जोखिममा छन् ।

    मृत्यु हुने अधिकांश ४० वर्षमाथिका छन्। उनले मृत्यु भएकामध्ये नौ प्रतिशतले खोप लगाएको तथा अन्यले खोप नलगाएको पाइएको बताए । गौतमले चिसो बढेकोले अब भने जापानिज इन्सेफ्लाइटिस् संक्रमण कम हुने बताए । यो रोग विशेषगरी साउनदेखि कात्तिकसम्म बढी देखिन्छ । नेपालमा ८२ प्रतिशत बालबालिकालाई जापानिज इन्सेफ्लाइटिस्विरुद्धको खोप लगाइएको छ ।

    जापानिज इन्सेफ्लाइटिस् ‘क्युलेक्स’ प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको गम्भीर रोग हो । यो लामखुट्टे साँझपख तथा झिसमिसे बिहानीको समयमा बढी सक्रिय हुने गर्दछ । धानबाली, दलदल र पानी जम्ने स्थान लामखुट्टेको लागि प्रजनन स्थल बन्ने हुनाले यस्ता क्षेत्रमा संक्रमणको जोखिम बढी हुन्छ । नेपालमा सन् १९७८ मा पहिलोपटक रुपन्देही जिल्लामा जापानिज इन्सेफ्लाइटिस् देखिएको थियो ।


    प्रतिक्रिया दिनुहोस