बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • राष्ट्रिय सभा निर्वाचन : सात निर्वाचन अधिकृत नियुक्त


    हुलाक प्रेस

    • मंगलबार, पुस ८ २०८२१०:०६
    राष्ट्रिय सभा निर्वाचन : सात निर्वाचन अधिकृत नियुक्त

    काठमाडौं । आगामी २०८२ माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले सात प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको छ। राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम आयोगको मिति २०८२ पुस ७ गते बसेको बैठकले सात जना जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो।

    आयोगका अनुसार नियुक्त निर्वाचन अधिकृतहरू मिति २०८२ पुस १५ गतेदेखि लागू हुने गरी कार्यभार सम्हाल्नेछन्। 

    उनीहरूले मिति २०८२ पुस १६ गते सम्बन्धित प्रदेशको प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम तय भएको छ।

    नियुक्त हुने निर्वाचन अधिकृतमध्ये कोशी प्रदेशका लागि मोरङ जिल्ला अदालतका न्यायाधीश भीष्मराज प्रसाईं, मधेश प्रदेशका लागि धनुषा जिल्ला अदालतका शुभाषबाबु पुरी र बागमती प्रदेशका लागि मकवानपुर जिल्ला अदालतकी गीता श्रेष्ठ खटाइएका छन्। 

    यस्तै, गण्डकी प्रदेशका लागि कास्की जिल्ला अदालतका हिमलाल वेल्वासे, लुम्बिनी प्रदेशका लागि दाङ जिल्ला अदालतका प्रकाशप्रसाद पण्डित, कर्णाली प्रदेशका लागि सुर्खेत जिल्ला अदालतका दीपक ढकाल तथा सुदूरपश्चिम प्रदेशका लागि कैलाली जिल्ला अदालतका भुवनसिंह थापा निर्वाचन अधिकृत नियुक्त भएका छन् ।

    निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्न आवश्यक तयारी तीव्र बनाइएको जनाएको छ। उक्त जानकारी आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्तिमार्फत दिए ।


    प्रतिक्रिया दिनुहोस