काठमाडौं । विशेष अदालतले घुस लिएर भ्रष्टाचारको आरोप खेपेका पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा राख्न आदेश दिएको छ ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उनलाई थुनामा पठाउनु पर्ने आदेश गरेको हो ।
गत असोजमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गुप्ता र पूर्व भूमि व्यवस्थामन्त्री रञ्जिता श्रेष्ठविरुद्ध मुद्दा दायर भएको थियो ।
कास्कीको मालपोत कार्यालयका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीको सरुवा थमौतीका लागि बिचौलियासँग घुस डिल गरेको अडिओ सार्वजनिक भएको थियो । मालपोत अधिकृतको सरुवा थमौतीमा ५३ लाख र भूमि आयोग कास्कीको अध्यक्ष नियुक्तिमा २५ लाख रुपैयाँ घुस लेनदेन भएको अख्तियारको दाबी छ ।
अडिओ सार्वजनिक भएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीका मन्त्री गुप्तालाई राजीनामा दिन भनेका थिए। गुप्ता र श्रेष्ठविरुद्ध ७८ लाख रुपैयाँ बिगो कायम गरिएको छ।
तत्कालीन मन्त्री गुप्ताले कास्कीस्थित मालपोत कार्यालयका प्रमुख अधिकारीको सरुवा रोकिदिने र भूमि आयोगमा सदस्य बनाइदिने भन्दै घरजग्गा व्यवसायीबाट ५३ लाख रुपियाँ घुस लिएको प्रमाण फेला परेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्री गुप्ता र पूर्वमन्त्री रन्जिता श्रेष्ठले आपसी मिलेमतोमा पदको दुरुपयोग गर्दै कार्यसुविधा प्रदान गर्नका लागि २५ लाख रुपियाँ घुस लिएको अभियोग लगाएको थियो ।
आयोगका अनुसार कुल ७८ लाख रुपियाँको घुस र रिसवत लेनदेनसम्बन्धी अडियो प्रमाण, बैँक कारोबार विवरण र डिजिटल फरेन्सिक परीक्षण प्रतिवेदनबाट तथ्य पुष्टि भएको हो । डिजिटल फरेन्सिक ल्याबको परीक्षणमा श्रव्य, दृश्य (अडियो, भिडियो) सामग्री प्रतिवादीहरूसँग मेल खाने र छेडछाड नभएको निष्कर्ष निकालेको थियो ।