बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • निकोलस मादुरोको मुद्दा ९२ वर्षीय न्यायाधीशले हेर्ने, को हुन् उनी ?


    हुलाक प्रेस

    • मंगलबार, पुस २२ २०८२११:०५
    निकोलस मादुरोको मुद्दा ९२ वर्षीय न्यायाधीशले हेर्ने, को हुन् उनी ?

    काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको मुद्दा ९२ वर्षीय न्यायाधीशको हातमा पुगेको छ । उनलाई अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टने नियुक्त गरेका थिए । एल्विन हेलरस्टिनले मादुरोको मुद्दा हेर्ने थाहा पाएपछि ट्रम्पले भने, “उनी धेरै सम्मानित छन् ।”

    भेनेजुएलाका नेता र उनकी पत्नीलाई शनिबार अमेरिकी सैन्य बलहरूले काराकासमा उनी सुतिरहेको अवस्थामा पक्राउ गरेका थिए । पछि उनलाई ब्रुकलिन डिटेन्सन सेन्टर लगिएको थियो । 

    विश्वका शक्तिशाली अदालतहरूमा गनिने अमेरिकी न्याय प्रणाली फेरि चर्चामा छ । भेनेजुएलाका राष्ट्रपति मादुरोको मुद्दा ९२ वर्षीय न्यायाधीशसमक्ष पुग्नु यसको कारण बनेको छ । ९२ वर्षको उमेरमा पनि अदालतको कमान्ड सम्हाल्दै अमेरिकी जिल्ला न्यायाधीश एल्विन हेलरस्टिनले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको मुद्दाको सुनुवाइ गर्दा उमेरले वास्तवमा न्यायाधीशको काममा बाधा पुर्‍याउँछ वा पुर्‍याउँदैन भन्ने प्रश्न उठेको छ । 

    मादुरोको मुद्दा सुनिरहेका न्यायाधीश हेलरस्टिनले न्यायिक कार्यवाही सम्हाल्दा यसले अमेरिकी न्याय प्रणालीको संरचनालाई उजागर गरेको जहाँ उमेरभन्दा क्षमता र संवैधानिक सुरक्षालाई सर्वोच्च मानिन्छ ।

    को हुन् एल्विन हेलरस्टिन ?
    एल्विन हेलरस्टिन अमेरिकाको न्युयोर्कस्थित फेडरल जिल्ला न्यायाधीश हुन् । उनी १९९८ देखि यो पदमा छन् र अहिले सिनियर स्टेटसमा काम गरिरहेका छन् । उनी ९२ वर्षका छन्, तर उच्च प्रोफाइल मुद्दाहरू सम्हालिरहेका छन् । 

    १९३३ मा न्युयोर्कमा जन्मिएका हेलरस्टिनले अमेरिकी सेनाको सैन्य अभियोजन सेवामा काम गरेका थिए । पछि निजी क्षेत्रमा वकिलगी गरे । कोलम्बिया विश्वविद्यालय स्कुल अफ ल’का पूर्वविद्यार्थी हेलरस्टिनले आफू हाल न्यायाधीशको रूपमा कार्यरत रहेको अदालतमै क्लर्कको रूपमा आफ्नो करियर सुरु गरेका थिए । आफ्नो व्यावसायिक यात्रामा उनले सुसंगत फैसलाहरू दिएका छन् । यहूदी समुदायका प्रमुख व्यक्तित्वमध्ये एक भए पनि निष्पक्षताका लागि चिनिने एल पाइसले रिपोर्ट गरेको छ ।

    मादुरोबाहेक, उनले ९/११ आक्रमणसँग जोडिएका मुद्दा, ट्रम्पसँग सम्बन्धित विषयहरू र भेनेजुएलाका अन्य व्यक्तिहरूका ड्रग मुद्दाहरू सुनाएका छन् । अप्रिल २०२४ मा उनले मादुरोका नजिकका सैन्य जनरल क्लिभर अल्कालालाई २१ वर्षको सजाय सुनाएका थिए ।

    हेलरस्टिनले गरेका थिए ट्रम्पको ‘हस मनी’ मुद्दाको सुनुवाइ 
    हेलरस्टिनले राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘हस मनी’ भुक्तानीसम्बन्धी न्युयोर्क राज्यको फौजदारी मुद्दालाई फेडरल अदालतमा स्थानान्तरण गर्ने प्रयासहरूलाई निरन्तर खारेज गर्दै आएका छन् । यद्यपि, हालै फेडरल अपिल्स कोर्टले २०२४ को सुप्रिम कोर्टको राष्ट्रपतीय प्रतिरक्षासम्बन्धी फैसलालाई ध्यानमा राख्दै उक्त मुद्दामा उनका निर्णयहरू पुनरवलोकन गर्नुपर्ने ठहर गरेको छ ।

    अमेरिकामा न्यायाधीशहरू किन रिटायर हुँदैनन् ?
    ९० वर्षभन्दामाथिका न्यायाधीशले ठूलो मुद्दा सुनुवाइ गर्नु धेरै देशहरूमा असामान्य लाग्न सक्छ, तर अमेरिकामा यो पूर्ण रूपमा सामान्य छ । कारण हो, अमेरिकी संविधानको धारा ३ अन्तर्गत फेडरल न्यायाधीशहरू (सुप्रिम कोर्ट सहित)लाई आजीवन नियुक्ति हुन्छ । अर्थात् न्यायाधीशहरूका लागि कुनै अनिवार्य रिटायरमेन्ट उमेर हुँदैन ।

    उनीहरूलाई केवल महाअभियोगमार्फत मात्र हटाउन सकिन्छ । यो प्रणालीको उद्देश्य न्यायाधीशहरूलाई राजनीतिक दबाबबाट टाढा राख्नु र न्यायिक स्वतन्त्रतालाई मजबुत बनाउनु हो । यहीकारण अमेरिकाको न्यायिक प्रणाली विश्वसँग फरक छ । यहाँ न्यायाधीशहरूको नियुक्ति आजीवन हुन्छ र उमेरले कहिल्यै उनीहरूको कुर्सी खोस्न सक्दैन ।

    दशकौँ लामो न्यायिक करियर
    अमेरिकामा मानिसहरू लामो उमेरसम्म बाँच्छन्, त्यसैले न्यायाधीशहरूको करियर अब ३० देखि ४० वर्ष वा सोभन्दा बढी लामो भएको छ । हालका अध्ययनअनुसार एक फेडरल न्यायाधीशको औसत उमेर करिब ६९ वर्ष छ । उनीहरूलाई रिटायर हुन बाध्य पार्ने कुनै प्रत्यक्ष कानुनी माध्यम छैन ।

    ‘सिनियर स्टेटस’को विकल्प भने पूर्ण रिटायर नहुन चाहने न्यायाधीशहरूका लागि ‘सिनियर स्टेटस’ छ, ६५ वर्षको उमेर र कम्तीमा १५ वर्षको सेवापछि । सिनियर न्यायाधीशहरू पूर्ण तलब लिन्छन् तर कम मुद्दाहरू सुनुवाइ गर्छन् । यसबाट एकातिर अनुभव कायम रहन्छ, अर्कोतिर नयाँ नियुक्तिका लागि स्थान बन्छ ।

    सुप्रिम कोर्टमै उठ्छ रिटायरमेन्टको दबाब
    रिटायरमेन्टबारे सार्वजनिक दबाब मुख्य रूपमा सुप्रिम कोर्टस्तरमा मात्र देखिन्छ । बराक ओबामाको कार्यकालमा रुथ बेडर गिन्सबर्गले खराब स्वास्थ्यका बाबजुद राजीनामा दिन अस्वीकार गरिन् । सन् २०२० मा ८७ वर्षको उमेरमा कार्यालयमै उनको निधन भयो । त्यसपछि डोनाल्ड ट्रम्पलाई एमी कोनी ब्यारेटलाई न्यायाधीश नियुक्त गर्ने अवसर मिल्यो । यसले सुप्रिम कोर्टमा ६–३ कन्जर्भेटिभ बहुमत झन् मजबुत भयो ।

    ९८ वर्षीय न्यायाधीशको निलम्बन पनि चर्चामा
    गत वर्ष अगस्टमा अमेरिकी अपिल्स कोर्टले ९८ वर्षीय न्यायाधीश पोलिन न्यूम्यानको निलम्बन बढायो । उनले आफ्नो फिटनेस जाँचका लागि न्यूरोलोजिकल टेस्ट गर्न अस्वीकार गरेकी थिइन् । पोलिन न्यूम्यान त्यो कोर्टकी सबैभन्दा लामो सेवा गर्ने न्यायाधीश र प्रसिद्ध पेटेन्ट विज्ञ थिइन् । तर, उनको कानुनी चुनौती अदालतमा खारेज भयो ।


    प्रतिक्रिया दिनुहोस