काठमाडौं । इरानमा विगत दुई हप्तादेखि सरकारविरोधी प्रदर्शनबीच अमेरिकी अधिकारीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानमाथि हुनसक्ने सम्भावित सैन्य आक्रमणका विकल्पहरूबारे ब्रिफिङ दिएका छन् ।
इरान सरकारले प्रदर्शनकारीहरूमाथि दमन गरेमा ट्रम्प सैन्य कदम चाल्ने विषयमा गम्भीरतापूर्वक विचार गरिरहेको ‘न्युयोर्क टाइम्स’को रिपोर्टले जनाएको छ । अधिकारीहरूका अनुसार, राष्ट्रपतिले हालसम्म अन्तिम निर्णय भने लिएका छैनन् ।
ट्रम्पले शनिबार सामाजिक सञ्जालमा लेख्दै भने, “इरान स्वतन्त्रतातर्फ हेरिरहेको छ, जुन पहिले कहिल्यै भएको थिएन । अमेरिका मद्दतका लागि तयार छ ।”
अर्कोतर्फ, इरानी संसद्का सभामुख मोहम्मद बागेर कालिबाफले आइतबार चेतावनी दिँदै यदि अमेरिका वा इजरायलले इरानमाथि आक्रमण गरेमा दुवैलाई कडा जवाफ दिने बताएका छन् ।
‘टाइम’ म्यागजिनले तेहरानका एक चिकित्सकलाई उद्धृत गर्दै कम्तीमा २१७ प्रदर्शनकारीको मृत्यु भएको उल्लेख गरेको छ । न्युज एजेन्सी एपीका अनुसार हालसम्म २६ सयभन्दा बढी मानिस पक्राउ परिसकेका छन् ।
इरानी राष्ट्रपतिले भने– अमेरिका र इजरायलले दंगा भड्काइरहेका छन्
इरानका राष्ट्रपति मसूद पजशकियानले आइतबार अमेरिका र इजरायलले इरानमा दंगा भड्काएर अराजकता र अव्यवस्था फैलाउन खोजेको आरोप लगाएका छन् । उनले इरानी नागरिकहरूलाई दंगा भड्काउने र आतंकवादीहरूबाट टाढा रहन आग्रह गरेका छन् ।
पजशकियानका अनुसार, अधिकारीहरूले प्रदर्शनकारीका कुरा सुन्ने बताए । तर, दंगा भड्काउनेहरूले समाजलाई तहसनहस पार्न खोजिरहेका बताए । सरकारी टेलिभिजनमा प्रसारित अन्तर्वार्तामा उनले भने, “हामी जनताका समस्या समाधान गर्नेछौँ, तर दंगाकारीहरूलाई पूरै समाज सिध्याउने अनुमति दिन सक्दैनौँ ।”
इरानमाथि आक्रमणको आशंकाले इजरायलमा ‘हाइ अलर्ट’
इरानमाथि अमेरिकी आक्रमण हुनसक्ने आशंकाबीच इजरायल ‘हाइ अलर्ट’मा छ । रोयटर्सले इजरायली स्रोतहरूलाई उद्धृत गर्दै सुरक्षा एजेन्सीहरूले सतर्कता बढाएको जानकारी दिएको छ ।
इजरायल र इरानबीच गत जुन महिनामा १२ दिनको युद्ध भइसकेको छ, जसमा अमेरिकाले इजरायलसँग मिलेर हवाई आक्रमण गरेको थियो ।
शनिबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच फोनमा कुराकानी भएको छ । रिपोर्टअनुसार उक्त कुराकानीमा इरानमा अमेरिकी हस्तक्षेपको सम्भावनाबारे छलफल भएको थियो ।
इरानको अमेरिका र इजरायललाई धम्की
इरानले अमेरिकाको सम्भावित सैन्य कारबाहीप्रति कडा चेतावनी जारी गरेको छ । इरानी संसद्का सभामुख मोहम्मद बागेर कालिबाफले यदि प्रदर्शनकारीको मुद्दालाई लिएर अमेरिकाले इरानमाथि आक्रमण गरेमा अमेरिकी सेना र इजरायल दुवै इरानको निसानामा पर्ने बताएका छन् । इरानी नेतृत्वले सम्भावित जवाफी कारबाहीमा इजरायललाई पनि सिधै निसाना बनाउने कुरा गरेको यो पहिलो पटक हो ।