काठमाडौं । सर्वोच्च अदालतले चुनाव र होलीको बिदामा पनि बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्ने भएको छ ।
सर्वोच्चको शुक्रबार (फागुन १५) को निर्णयअनुसार, बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्न न्यायाधीश तोकिएको छ । यसले चुनावको समयमा गैरकानुनी पक्राउ र थुनामा राखेको दाबीसहित कुनै पनि व्यक्तिले रिहाइका लागि बन्दी प्रत्यक्षीकरण रिट दर्ता गर्ने पाउनेछन् ।
सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले बिदाका दिनमा बन्दी प्रत्यक्षीकरणमा सुनुवाइका लागि तीनजना न्यायाधीश तोकिएको जानकारी दिए । जसअनुसार १८ गते (फागुपूर्णिमा) न्यायाधीश शारंगा सुवेदी, २२ गते चुनावी बिदामा अवधिमा न्यायाधीश महेश शर्मा पौडेल र २४ गते नारी दिवसका दिन न्यायाधीश मेघराज उपाध्यायले सुनुवाइ गर्नेछन् ।
बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्न बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म रिट दर्ता र सुनुवाइका लागि अदालत खुला राखिनेछ ।
“सेवाग्राहीको सहजताका लागि सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणमा सुनुवाइको व्यवस्थापन गरिएको छ । मातहतका अदालतमा पनि विदाको समयमा त्यहाँको आवश्यकता र अवस्था हेरेर अदालतबाट सुनुवाइका लागि व्यवस्थापन हुन्छ,” प्रवक्ता कोइरालाले भने ।