बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • के इरान अमेरिकाविरुद्ध जवाफी आक्रमणको तयारीमा छ ?


    हुलाक प्रेस

    • शनिबार, फागुन १६ २०८२०३:०६
    के इरान अमेरिकाविरुद्ध जवाफी आक्रमणको तयारीमा छ ?

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै अमेरिकाले इरानमा सैन्य अभियान सुरु गरेको पुष्टि गरेका छन् ।

    ट्रम्पले भिडियो सन्देशमा इरानमा दुष्ट समूहले शासन गरेको भन्दै त्यसबाट उत्पन्न खतरालाई रोक्न चाहेको बताएका छन् । सोहीकारण अमेरिकाले सैन्य अभियान सुरु गरेको उनको भनाइ छ ।

    ट्रम्पले इरानको डरलाग्दा गतिविधिले अमेरिका, अमेरिकी सैनिक, विदेशी सैन्य आधार शिविरहरू र विश्वभर रहेका आफ्ना सहयोगीहरूलाई खतरामा पारेका उल्लेख गरेका छन् ।

    ट्रम्पले इरानभित्रको सैन्य अपरेशनका कारण अमेरिकीहरूको ज्यान जान सक्ने सम्भावना स्वीकार गरेका छन् । उनले भने, “हामीले क्षति व्यहोर्नुपर्ने हुन सक्छ । युद्धमा प्रायः यस्तै हुन्छ, तर हामी यो केवल अहिलेका लागि मात्र होइन, भविष्यका लागि गरिरहेका छौँ, र यो एक महान् मिसन हो ।”

    अमेरिका र इजरायलले इरानमा आक्रमण गरिरहँदा राष्ट्रपति ट्रम्प फ्लोरिडाको पाल्म बीचस्थित आफ्नो निजी क्लब मार–ए–लागोमा छन् । टेक्सासको पोर्ट अफ कर्पस क्रिस्टीमा मन्तव्य दिएपछि उनी मार–ए–लागो पुगेका हुन् । उनको सार्वजनिक कार्यतालिकाअनुसार उनी ‘मागा इन्क.’ नामक सुपर पीएसीसँग बैठक तथा रात्रिभोज कार्यक्रममा सहभागी हुनेछन् ।

    ट्रम्पले अमेरिकालाई धम्की दिइरहने इरानको कट्टरपन्थी दुष्ट तानाशाहलाई रोक्न विशाल सैन्य अपरेसन चलाएको उनले जनाएका छन् । “हामी तिनीहरूको मिसाइल नष्ट गर्नेछौँ र तिनीहरूको मिसाइल उद्योगलाई पूर्ण रूपमा ध्वस्त पार्नेछौँ,” ट्रम्पले भनेका छन् ।

    गत जुन महिनामा अमेरिकाले इरानका आणविक केन्द्रहरूमा गरेको बमबारीपछि इरानले पुनः आफ्नो आणविक कार्यक्रम पुनर्निर्माण गर्न खोजिरहेको ट्रम्पले बताएका छन् । उनले भने, “उनीहरूले आफ्ना आणविक महत्वाकांक्षा त्याग्ने हरेक अवसर अस्वीकार गरे । अब हामी थप सहन सक्दैनौँ ।”

    इरानी सरकारी सञ्चारमाध्यमका अनुसार तेहरानस्थित इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको निवास तथा कार्यालय रहेको उच्च सुरक्षा क्षेत्र पास्चर जिल्लामा विष्फोटका आवाज सुनिएका छन् । फार्स न्यूज एजेन्सीले उक्त क्षेत्रमा कम्तीमा सातवटा मिसाइल प्रहार भएको जनाएको छ ।

    सीएनएनले पुष्टि गरेका भिडियोहरूमा शनिबार बिहान इरानी राजधानीमा गरिएको आक्रमणपछि धुवाँको बाक्लो मुस्लो उडिरहेको देखिएको छ ।

    सरकारी सञ्चारमाध्यमका अनुसार अमेरिका र इजरायलको संयुक्त आक्रमणपछि इरान कडा जवाफको तयारीमा रहेको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्ससँग सम्बद्ध तास्निम न्युज एजेन्सीले भनेको छ, “इरानले इजरायलविरुद्ध विनाशकारी जवाफ र प्रतिशोधको तयारी गरिरहेको छ ।”

    विश्लेषकहरूका अनुसार तेहरानसँग प्रतिशोधका लागि विभिन्न विकल्पहरू छन्, जसमा यस क्षेत्रमा रहेका अमेरिकी सैन्य आधारहरू वा इजरायलका सैन्य तथा नागरिक क्षेत्रमा छोटो दूरीका मिसाइल प्रहार समावेश हुन सक्छन् । साथै, पर्सियन खाडी आसपासका क्षेत्रमा इरानी ड्रोन, साना नौसैनिक डुङ्गा तथा पनडुब्बीमार्फत अमेरिकी युद्धपोतहरूलाई समेत खतरा हुन सक्ने आकलन गरिएको छ ।


    प्रतिक्रिया दिनुहोस