काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत बिहीबार (फागुन २१) बिहान ७ बजेबाट देशैभर मतदान जारी छ । शान्तिपूर्ण मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ । राजनीतिक दलका शीर्ष नेताले धमाधम मतदान गरिरहेका छन् ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन–३ को भरतपुर–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रबाट मतदान गरेका छन् । उनी रुकुम पूर्वबाट उमेदवार छन् ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले काठमाडौं निर्वाचन क्षेत्र नम्बर–३ अन्तर्गत महांकाल चौरस्थित केन्द्रमा मतदान गरे । उनी चितवन–२ का उमेदवार हुन् ।
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौंको बौद्ध, महांकालस्थित जनकल्याण माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गरेका छन् । उनी काठमाडांैं–३ का उमेदवार हुन् ।
नेकपाका सहसंयोजक माधवकुमार नेपालले रौतहटको जानकी प्रावि केन्द्रबाट मतदान गरेका छन् । उनी रौतहट–१ बाट उमेदवार छन् । दाङ–२ का उमेदवार शंकर पोखरेलले जनता विद्यापीठ, बिजौरी मतदान केन्द्रबाट पहिलो मतदान गरे ।
नेपाली कांग्रेसका उपसभापति तथा केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्माले झापा–१ मेचीनगर–९ स्थित कविशिरोमणि माविको मतदान केन्द्रमा मतदान गरे । उनी यसपटक उमेदवार छैनन् ।
रास्वपाका वरिष्ठ नेता तथा झापा–५ का उमेदवार बालेन्द्र शाहले काठमाडौंको सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान गरे ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ले रोल्पाको परिवर्तन नगरपालिका–३, थुनिकोट केन्द्रबाट मतदान गरेका हुन् । उनी उमेदवार बनेका छैनन् ।
यस्तै, एमाले उपाध्यक्ष तथा रुपन्देही–२ का उमेदवार विष्णु पौडेलले बुटवल–८ स्थित सडक डिभिजन मिलनचोकमा मतदान गरेका हुन् । एमाले उपमहासचिव योगेश भट्टराईले ताप्लेजुङको मैवाखोला गाउँपालिका–३ सांघु स्थित नारायणी मावि ‘ख’ मतदान केन्द्रमा पहिलो मत खसाले ।
नेकपाका नेता वर्षमान पुनले रोल्पाको रोल्पा नगरपालिकास्थित बालउदय मावि केन्द्रबाट मतदान गरे । उनी रोल्पाबाट उमेदवार छन् ।
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता तथा रुकुम पश्चिमका उमेदवार जनार्दन शर्माले पनि मतदान गरेका छन् । उनले मुसिकोट नगरपालिकाको सेरिगाउँस्थित यमुनानन्द माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मत खसालेका हुन् ।